
काठमाडौ, भाद्र ४ । विदेशमन्त्री भएपछि पहिलो पटक भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन् । भ्रमणका लागि आएका जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गर्नुभएको थियो । नेपालले संविधान निर्माण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएका उहाँ मन्त्री भएपछि फेरि आउनुभएको हो । आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन उहाँ आउनुभएको हो । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँले प्रधानमन्त्रीलाई आजै २ बजे भेट्नुहुनेछ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ। त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन् ।






