
९ भाद्र २०७६, काठमाडौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान आज हुने भएको छ । आरोपितमध्य आइतबार अस्मिता कार्की (रुकु)को मात्रै बयान सकिएकाले आज लामिछानेसहित युवराज कँडेलको बयान हुनेछ।

आरोपित तीन जनाविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भइसकेपछि अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको बयान लिनेछ ।
त्यसपछि हुने थुनछेक बहसका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ । आइतबार अभियुक्त अस्मिता कार्कीको बयान सकिएको र सोमबार बिहान १० बजे लामिछाने र कँडेलसँग बयान लिइनेछ ।
अस्मिताले आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन् । उक्त अभियोग पत्रमा लेखिएको छ ‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भन्दै धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ ।’
पुडासैनीको पिछा छोडाइदिन क्यामेरामेन अनिल ढुंगेलमार्फत लामिछाने र कंडेललाई अनुरोध गरेको र पुडासैनीसँगका मेसेज र अन्तरंग फोटोहरू ढुंगेललाई पठाइदिएको उनको बयानमा लेखिएको छ । कार्कीले पठाएका ती मेसेज आफूले कंडेलसमेतलाई दिएको भन्दै ढुंगेलले प्रहरीमा कागज गरेको अभियोगपत्रमा उल्लेख छ ।
अभियोगपत्रमा उल्लेख भए अनुसार समाचार बनाउने क्रममा कंडेलले पुडासैनीलाई गाली गर्ने कुरा लामिछानेको बयानबाट देखिएको छ । कंडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको दाबी गरिएको छ ।
आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो ।
Related






