११ भाद्र २०७६,पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजनामा सहकारीमा कर विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार पोखरामा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्वव कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले सहकारीहरुले पछिल्लो समय राजस्व संकलनमा महत्वपूर्ण योगदान गरेको छ तर केही सहकारीले गरेका गलत क्रियाकलापका कारण समग्र सहकारी क्षेत्र नै खराब हो कि भन्ने आशंका उत्पन्न भएको बताउनु भयो । उहाँले सहकारी माथि लाग्दै आएको आरोपलाई गलत सावित गर्नका लागि सबै सहकारीहरुलाई नियमसंगत रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
कतिपय सहकारीमा सदस्यसंग रकम संकलन गरी सञ्चालक र कर्मचारीहरुले मनपरी खर्च गर्ने गरेको भन्दै उहाँले अस्वभाविक हिसाव राख्ने सहकारीहरुलाई राजस्व कार्यालयले निगरानीमा राखेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले गलत गरेका केही सहकारीहरुलाई आधार मानेर समग्र सहकारी अभियानलाई नै गलत भन्ने प्रवृतिका विरुद्ध एकतावद्ध भएर जुट्न सबै सहकारीकर्मीहरुलाई आव्हन गर्नु भयो । उहाँले सहकारीहरुलाई प्रभावकारी बनाउनका लागि स्तरीकरण तथा सुशासन कायम राख्ने विषयमा केन्द्रीत हुनु पर्नेमा उहाँको जोड थियो ।
नेफ्रस्कुनका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक भीम गुरुङले सहकारी क्षेत्रमार्फत मुलुकको समृद्धिका लागि थप योगदान गर्नका लागि प्रभावकारी सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । राजस्वका विषयमा प्रष्ट भएर काम गर्नका राजस्व कार्यालय र सहकारीहरुबीच समन्वय आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रमका सहभागीहरुले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले गरेको योगदानको छुट्टै अभिलेख राख्नु पर्ने, राजस्व दाखिला गर्ने प्रक्रिया सहज र सरल हुनु पर्ने, कर शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए । राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, उपसमितिका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको स्वागत र शाखा प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल, शाखा समन्वय उपसमितिका सदस्य पवित्रा केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

1 मिनेट