
१३ भाद्र २०७६, भक्तपुर । भक्तपुरका १२ परिवारलाई आफ्ना बेपत्ता सन्तानको सम्झनाले दिनदिनै पिरोल्ने गरेको छ । अन्तर्राष्ट्रिय बेपत्ता दिवसले त झन खाटो बसेको घाउँ कोट्याउने गरेको पीडित परिवारको गुनासो छ ।
जिल्लामा नेपाल रेडक्रस सोसाइटी भक्तपुरले आयोजना गरेको कार्यक्रममा सहभागि सहभागि भएका बेपत्ता परिवारले जुन सरकार आएपनि आश मात्रै देखाउने गरेको गुनासो गरे ।
भेला भएका बेपत्ता परिवारले सरकारलाई भने–“सरकार अब कि सास देखाऊ, कि लाश देखाऊ, भो अब आस नदेखाऊ ।” तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सास वा लाश पाउने आशा गरेको पिडित परिवारले अब त्यो आशा पनि मारेको दुखेसो गर्छन् ।
२०५८ साल चैत १२ गते भक्तपुर चुनदेवीका नारायणभक्त त्वायनाका २२ वर्षीय छोरा बद्री नारायणलाई सेनाले बेपत्ता बनायो । आफ्नो सन्तान बेपत्ता हुँदा आजको दिनसम्म पनि त्यो सम्झनाले पिरोल्ने गरेको सुनाउनुहुन्छ नारायणभक्त ।
आफ्नो छोरासंगै त्रिशुलीको ठाकुरप्रसाद लामिछानेलाई एकैपटक सेनाले समातेर लगेपछि आजसम्म नफिर्किएको बताउदै उहाँ भन्नुहुन्छ–“मेरो छोरा खोई भन्दा माओवादीका नेताहरु तपाईंका छोरा शहिद भए भन्छन्, शहिद भएको भए ठाउँ देखाईदेउ, सालिक बनाइदेऊ सरकार, मेरो छोराको कि सास देखाऊ, कि लास, भो अब आश नदेखाऊ ।”
तत्कालिन माओवादी द्धन्द्धमा राज्यपक्ष र माओवादीबाट भक्तपुरमा १२ जना बेपत्ता भएका छन् ।
द्धन्द्धकालमा राज्यपक्षबाट आफ्नो श्रीमान् गुमाउनु भएकी संबिधान सभाका पुर्व सभासद तथा बेपत्ता परिवारजन नारायणीदेबी प्रधानले राज्यले बेपत्ताहरुको छानबिनमा चासो नदिएको गुनासो गर्नुहुन्छ ।
उहाँले सास कि लाशको छिनोफानो भए कम्तीमा आशा त राख्नु पर्दैनथ्यो भन्दै सरकार यस मामिलामा गम्भिर हुनुपर्ने बताउनुहुन्छ ।
भक्तपुर कै ६६ वर्षीया सीता बिसुंके छोरा रामगोपाल र बुहारी दुर्गाको सम्झनाले सधै आँसु बगाउनुहुन्छ । रामगोपालको बहिनी स्वस्तिका भन्नुहुन्छ–“दाई रामगोपाल द्धन्द्धमा शहिद हुनुभयो, भाउजु दुर्गालाई राज्यपक्षले बेपत्ता बनायो, दाईका दुई छोरी पूजा र पुनमलाई हुर्काए, स्नातकसम्म पढाए, आज पनि आमा भने दाई र भाउजुको सम्झनामा सधै आँसु बगाईरहनु हुन्छ ।”
२०५९ सालमा भक्तपुर नगरपालिका–८ की कृष्णबेती प्रजापतिका श्रीमान सत्यनारायण प्रजापतिलाई सेनाले घर मै आएर लगेर बेपत्ता भए । सूर्यविनायकको व्यारेकमा राखेको थाहा पाएर कति दिन व्यारेको गेटमा धाएँ तर नफर्किएको बताउनुहुन्छ उहाँ ।
पाँच छोरी र एक छोरालाई हुर्काएर पढाउन उनलाई निकै सास्ती भयो तर पहिला त्यो घाउँले आफूलाई मात्रै पोल्ने गरेपछि अहिले हुर्किएर ठूला भएका छोराछोरी बाबु बेपत्ता भएको पीडा भोगिरहेको बताउनुहुन्छ उहाँ ।
कृष्णवेती भन्नुहुन्छ–“देशमा गणतन्त्र आयो, तर मेरो श्रीमान् आएनन्, लाश कि सास देखाईदिए बल्ल गणतन्त्र आए जस्तो हुन्थ्यो, हाम्रो लागि ।” बेपत्ताका परिवारहरु मरेको भएपनि थाहा पाउँन पाए अन्तिम संस्कार गर्न पाईन्थ्यो भन्छन् ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने द्वन्द्वको पिडा राज्य र द्धन्द्धरत दुवै पक्षका पिडितलाई उत्तिकै भएको भन्दै सरकारलाई छिटोभन्दा छिटो समस्या समाधनका लागि जागरुक गराउन सबैपक्षबाट लाग्नुपर्ने बताउनुहुन्छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबैको चासो र चिन्ताको विषय बेपत्ता व्यक्तिको बारेमा सरकारले गम्भिर चासो देखाउनुपर्नेमा जोड दिनुभयो ।






