
एक्कासी ज्वरो आउने र टाउको दुखेपछि चिकित्सकको परामर्श विनै विरामीले पेनकिलर खाने गरेको देखिन्छ। कतिपयले त एन्टिबायोटिक समेत लिने गरेका छन्। यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गर्न आउने विरामीको कुरा सुनेर प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला अचम्ममा परेका छन। ‘चिकित्सकको परामर्श्विना अनावश्यक रुपमा एन्टिबायोटिक खान मिल्दैन’, उनले भने ।
डेंगुले मुलुकका ४२ जिल्लामा प्रकोपको रुप लिएको छ। ३ हजार ४ सयभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। डेंगु हुँदा एक्कासि ज्वरो आउँछ। टाउको दुख्छ। पेट, जीउ र जोर्नीमा दुखाइ महसुस हुन्छ। आँखाको गेडी र पछिल्लो भाग दुख्छ। डा. बास्तोला भन्छन्, ‘डेंगुमा को(इन्फेक्सन कस्तो छ, यसबारेमा ध्यान दिनुपर्छ। सात प्रतिशतभन्दा थोरै व्यक्तिलाई मात्र को(इन्फेक्सन हुन्छ। त्यसैले डेंगुका विरामीलाई एन्टिबायोटिकले फाइदा गर्दैन। पेनकिलर त झनै घातक हुन्छ।’
चिकित्सकका अनुसार, विरामीमा को(इन्फेक्सन भएमा बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ। पहाडी जिल्लामा डोटीकी छत्रा मलासीको ज्यान को(इन्फेक्सनका कारण भएको चिकित्सकको आशंका छ। भदौ ६ गते उपचारका क्रममा कैलालीस्थित एक अस्पतालमा ती महिलाको ज्यान गएको थियो। प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेका अनुसार डेंगुका कारण अर्को एकजनाको ज्यान गएको छ ।

Related




