
१८ भाद्र २०७६, भक्तपुर । नेपाली कांग्रेसले प्रदेश–३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा आउँदो शुक्रबार र शनिबार मध्यपुर ठिमी नगरपालिका–९, बोडेस्थित कृषि विकास वैंकको तालिम केन्द्रमा प्रशिक्षण दिने भएको छ ।
प्रशिक्षण कार्यक्रमको संयोजन तथा व्यवस्थापन कांग्रेसको भक्तपुर जिल्ला कार्यसमितिले गर्नेछ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ मा दुई स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै छ। प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अनुसार बाँकी ६ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण दिइनेछ ।
भक्तपुरमा हुने प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहभागिता रहने जनाइएको छ । प्रदेश नं ३ को भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा यस प्रदेशका १३ जिल्लामध्ये सात जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।






