
२२ भाद्र २०७६ । वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ति एक पद’को विषयलाई उठान गर्नुभएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी अध्यक्षको जिम्मेवारी छोड्न दबाब बढेको छ । उहाँले पार्टीमा दर्ता गरेको सात बुँदे असहमतिपत्रमा यो विषयलाई उठान गरिएको छ । सरकार र पार्टी प्रमुख एउटै व्यक्ति नभई फरक फरक व्यक्ति हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिनुपर्नेगरी ओलीमाथि अध्यक्ष छाड्न दबाब बढेको हो ।
नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को व्यवस्था लागू गर्नुपर्ने बताउनुभयो । एउटै व्यक्ति दुई फरक कार्यकारी जिम्मेवारीमा रहँदा सशक्त रूपमा काम अगाडि बढ्न नसकेको बताउँदै उहाँले एक व्यक्ति एक कार्यकारी जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो ।
‘सरकार र पार्टी सञ्चालनको जिम्मेवारी एउटै व्यक्तिले लिँदा पार्टी सशक्त रूपमा अगाडि बढन सकेन,’ ज्ञवालीले भन्नभुभयो , ‘हाम्रो पार्टी अहिले सत्तामा छ, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ । त्यसैले, एक व्यक्ति एक प्रमुख जिम्मेवारी हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने उहाँको जोड रहेको छ । यसैगरी, पार्टीमा माथिदेखि तलसम्म जिम्मेवारी बाँडफाँड हुनुपर्ने माग उनले गर्नुभउको छ ।
पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको बताउँदै स्थायी कमिटी सदस्य ज्ञवालीले पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार जनतामा आधारित छ । पार्टी पनि जनआधारित हुन्छ । नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो । पार्टी्भित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकलजस्तो लाग्न सक्छ । तर, अब यसलाई लागू गर्नुपर्छ । अहिले त आवाज उठ्न थालिसकेको छ ।’






