
२९ भाद्र २०७६, काठमाडौं ।
बालबालिकाका बिरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनेपानि हालताम सह्य नहुने प्रधानमन्त्री केपी शर्मा ओली ले बताउनुभएको छ । आईतबार राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले अभिभावकविहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताउनुभएको छ । प्रधानमन्त्रीले सन्देशमा कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको पनि उल्लेख गर्नुभयो ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र नभई यो दीर्घकालीन राष्ट्रिय अभिष्ट भएको र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिने बताउनुभयो ।
संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तर बालबालिकाहरू आफैँ आफ्ना अधिकारको प्रयोग गर्न नसक्ने र त्यसका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरूको अधिकार रहेको बताउनुभयो ।
यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।






