
भक्तपुर, २८ भदौ : भक्तपुर अस्पतालको गेटैमा पूर्व तर्फ आकस्मिक कक्ष, पश्चिम तर्फ साझा औषधि बिक्री कक्ष, अलिक पर कोरोना सङ्क्रमित विरामीको आइसियू । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष । पुराना भवनहरु धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अस्पतालमा विरामीको बढ्दो चाप तर भवनको निकै अभाव । संकट झेलिरहेको भक्तपुर अस्पतालमा वर्षौदेखि कब्जा जमाएर बसेको साझा औषधि लिमिटेडलाई अस्पताल परिषर छोड्न अस्पतालले गरेको पटक पटकको निर्देशनलाई अटेर गरेको छ ।

आफ्नै औषधि बिक्री कक्ष राख्न सहज ठाउँ नपाएको भक्तपुर अस्पताललाई साझाले भने वर्षौदेखि भाडासमेत नतिरी बसेको छ । साझालाई अस्पताल प्रशासनले हटेर जान भन्दा राजनीतिक दबाबदेखि सरुवासमेतको धम्की दिने गरेको अस्पताल प्रशासनको गुनासो छ । विगतका मेडिकल सुपरिटेण्डेन्टले गरेको कमजोरीका कारण यतिखेर अस्पतालले निकै दुःख पाउनु परेको गुनासो गर्छ, अस्पताल प्रशासन । वर्षौदेखि बस्दै आएको साझाले अस्पताललाई धेरै वर्षदेखि भाडा तिरेको रेकर्ड नभएको प्रशासनको भनाइ छ ।
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवाल अस्पतालले आफ्नो फार्मेसी राख्ने ठाउँ नपाएर सानो जस्ताको टहरामा राख्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौदेखि साझाले अस्पताल परिसरमा औषधि बिक्री कक्ष राख्दै आएको छ, छोड भन्दा छोड्दैन, ऊ व्यापार गर्छ, हामी बिमाको निःशुल्क औषधि दिन्छौ, ठाउँ चाँहियो भन्दा टेर्दैन ।”
‘अस्पतालको औषधि बिक्री कक्षमा बिमाका बिरामीको लामो लाइन हुन्छ, दैनिक २०० देखि २५० जना त बिमाकै बिरामी आउँछन् । साँघुरो भएकाले लाइन बस्ने ठाउँ पनि पाउदैनन् । बिमा बाहेकका कतिपय बिरामी बाहिर मंहगोमा औषधि खरिद गर्न बाध्य छन्, साझाले छोडे त्यहीँ ठाउँमा अस्पतालले औषधि बिक्री कक्ष राख्न सक्थ्यो, तर छाड्दैन, उल्टै छाड्दैनौ के गर्छौ भनेर धम्क्याउछ,’ अस्पताल प्रशासनको गुनासो छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले साझाले अस्पतालको ठाउँ नछाड्दा निकै समस्या परेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “चारवर्ष अगाडि एक वर्षका लागि सम्झौता गरिएको रहेछ, म अस्पतालमा आउनु अघिदेखि नै सम्झौता नगरी नियम विपरित बस्दै आएको छ, अस्पतालले औषधिमा १० प्रतिशत छुट दिइरहेको छ, प्रमुख जिल्ला अधिकारीसंग बसेर भएको छलफलमा साझालाई अस्पताल छाड्न निर्देशन दिएको पनि हो, तर अटेर गरेको छ, अस्पताललाई निकै समस्या परिसक्यो ।” साझाका प्रबन्ध सञ्चालक भरत कोइरालाले अस्पतालको अनुमगन गरेर यहाँको समस्या देखेर र बुझेर जादा पनि साझाले कुनै हालतमा भक्तपुर अस्पताल भित्रको ठाउँ नछाड्ने अडान राखेको उहाँको भनाइ छ ।
केहीवर्ष अगाडिसम्म स्लिपको भरमा साझाबाट औषधि लैजाने गरेको पाइएको छ । अध्यक्ष सुवाल भन्नुहुन्छ, “पहिला मेसुको सही भएको एउटा स्पिलको भरमा मेसुदेखि कर्मचारीसम्मले आफूलाई चाहिने औषधि साझाबाटै उधारोमा लैजाने गरेका रहेछन्, त्यसको बिल एक मुष्ठ साझाले अस्पतालको नाममा पठाउने गर्ने रैछ, अहिलेको मेसु आएपछि स्पिलको भरमा औषधि ल्याउने परम्परा बन्द गरेका छौँ ।”
अस्पतालको रकेर्डमा २०७४ देखिनै साझाले भाडा नदिएको प्रशासनको भनाइ छ । अस्पतालका मेसु डा. गौतमले भन्नुभयो, “म आउँदा यहाँ धेरै बेतिथि थिए, अस्पताल व्यबस्थापन समिति र प्रशासन मिलेर त्यस्ता बेतिथिलाई हटाउदै लगेका छौँ, साझाले गर्दा हामीलाई समस्या भयो, ठाउँ छोडिदेउ भन्दा पनि छोड्दैन, यो कस्तो जबरजस्ती हो ?, पहिलादेखिनै भक्तपुर अस्पताललाई चारैतिरबाट पेल्दै आउने प्रबृत्तिले दुःख पाउदै आएको रहेछ ।”
अस्पतालको लेखा शाखाका अनुसार साझाले २९ लाख भाडा तिर्न बाँकी छ, तर उल्टै साझाले रु. २४ लाखको बिल पठाएको छ । साझाले अस्पतालका कर्मचारी र अस्पतालले लगेको औषधि भनेर बिल पठाएको छ । तर अस्पतालले कहिले कुन औषधि मागेको हो, कस कसले कुन औषधि कहिले लगेको हो, त्यसको कुनै बिल र प्रमाण छैन, अनावश्यक बिल बनाएर आएको बिलको कसरी भुक्तानी गर्नु ? साझाले आर्थिक क्षेत्रमा समेत अस्पताललाई समस्या पारेको छ ।
हरेक आर्थिक वर्षको अन्त्यमा त्यस्ता हिसाब फस्र्यौट गर्नुपर्ने नियम भएपनि साझाले वर्षौ अगाडिदेखिको बिल भनेर २४ लाखको बिल ल्याएको र बाँकी रकमको जबरजस्ती चेक छाडेर गएको गुनासो लेखा शाखाको छ ।
साझाले अस्पतालका चिकित्सकलाई औषधि सिफारिसका लागि प्रलोभन र दबाब दिने गरेको, केही कर्मचारीलाई प्रलोभन दिने गरेको अस्पतालका कर्मचारीकै भनाइ छ । साझा हटाउन खोज्ने मेसुदेखि कर्मचारीसम्मलाई सरुवा गरिदिने धम्कीसमेत दिएको अस्पतालको भनाइ छ । सरकारले अनिवार्य आफ्नै औषधि बिक्री कक्ष राख्नु पर्ने नियम बनाएर कार्यान्वयनमा आएपछि साझाको आवश्यकता नभएको अस्पतालको भनाइ छ । एउटै कम्पाउण्डमा फरक फरक औषधि पसल हुँदा विरामी ठगिने र अलमलमा पर्ने गरेको विरामी आफै बताउछन् ।
साझाका प्रबन्ध सञ्चालक भरत कोइराला भने अस्पतालले भाडा लिनै नमानेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामीले भाडा दिन खोजेका छौँ, अस्पतालले लिन मानेको छैन, साझा पनि सरकारी स्वामित्वमै रहेको संस्था हो, अस्पतालको औषधि बिक्री कक्षले मात्रै धान्दैन, त्यसैले साझा चाहिएको हो, कतिपय शल्यक्रियाका औषधि साझाले मात्रै बिक्री गर्न पाउँछ, त्यस्ता औषधिका लागि पनि साझा चाहिन्छ ।” कोइरालाले अस्पतालका कसैलाई पनि धम्की दिने काम नगरेको भन्दै २० औँ वर्ष अगाडिदेखि अस्पतालमा फार्मेसी सञ्चालन गरेकाले अस्पतालबाट साझा नहटाउने बताउनु हुन्छ ।
समितिका अध्यक्ष सुवालभने अब साझासँग अस्पतालले नविकरण नगर्ने भन्दै अस्पतालाई समस्या परेकाले साझाले अस्पताल परिसर छाड्नु पर्ने बताउनु हुन्छ । अस्पतालमा विवाद चर्किदै गएकाले मन्त्रालयलेनै साझालाई हटाउन कदम चाल्नु पर्ने कर्मचारी बताउँछन् ।–––
Related







