
काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एमसीसीविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । एमसीसीलाई राष्ट्रघाती भन्दै आएको विप्लव समूहले सडक प्रदर्शन गरेको छ । एमसीसीको विरोधस्वरूप समूहले संघीय राजधानी काठमाडौँको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निकालेको छ ।
जुलुसमा सो पार्टीसहित अन्य विभिन्न पार्टीका नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।
जुलुसलाई महासचिव विप्लवसँगै, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’लगायतका नेताहरुले नेतृत्व गरेका थिए । ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ’, ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जुलुस अहिले सुन्धारामा कोणसभामा परिणत भएको छ ।