
नगरपालिकाले रु. पाँच लाखमा खरिद गरि दुईवटा ढुङ्गा सञ्चालन गर्न स्थानीय २० जना युवाले नेतृत्व गरेको पाँचो गणेश कृषि समूहलाई नगर प्रमुख श्रेष्ठले हस्तान्तरण गरेपछि विगत चारदिनदेखि पलिस्वाँ पुखुः मा सरर ढुङ्गा चल्न थालेको हो ।
भक्तपुर, २९ भदौ । ‘वरिपरि लामोलामो झाडी, बिचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा स्थानीयले फालेको फोहोरको डंगुर’, दुईवर्ष अगाडिसम्म मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा देखिने दृश्य हो यो । व्यक्तिको नाममा दर्ता भई पटक पटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप फेर्ला भन्ने कल्पना पनि नगरेका स्थानीय यतिखेर आफ्नै टोलको यहीँ पोखरीमा सरर डुङ्गा चढ्न पाउँदा बच्चादेखि बृद्धसम्म मख्ख परेका छन् ।
“गरे के सकिदैन रैछ र ?, स्थानीयको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदो रहेछ, भन्ने नमूना बन्यो, हाम्रो यो ठाउँ, दुई वर्षमै यहाँको कुमारी मन्दिर, पार्क र यो पोखरीले बोडेको पहिचान नै फेरियो, हामी खुसी छौँ नगरपालिकादेखि”–बोडेका ६१ वर्षीय केदार सिपाही सुनाउनुहुन्छ ।
तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिको नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयले पोखरी बिक्री भएको चाल पाए र विरोध गर्दै आएका छन् ।
त्यसपछि यहाँका बासिन्दाले संघर्ष समिति नै गठन गरेर नगरपालिकासहितको साथमा दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते बोडे क्षेत्रको उक्त कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाए पछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो ।
अदालतले फैसला गरेको भोलीपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सफा गरी रु. ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरु गरेको बताउनुहुन्छ मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ । उहाँ भन्नुहुन्छ, “म सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिको नाममा गयो भने पछि चुप लागेर बस्न मनले मानेन, त्यसमाथि पनि मेयर भएर आए पछि पोखरी जोगाउने दायित्वनै थपियो, स्थानीयसंग काँधमा काँध मिलाएर अदालत जानेदेखि फैसला नभएसम्म संघर्षमा होमिए ।”
अदालतको फैसला आए लगत्तै यो पोखरीलाइै ऐतिहासिक रुपमा पुर्ननिर्माण गरेर पोखरीको संरक्षणसँगै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्य बल्ल पुरा भएको नगर प्रमुख श्रेष्ठले बताउनुहुन्छ । स्थानीय सिपाही भन्नुहुन्छ–“हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहोर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ् वार्क, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, फेरी डुङ्गा चलेपछि त मान्छे कहाँ कहाँदेखि आउँछन्, हामीलाई खुसी लागेको छ ।”
नगरपालिकाले रु. पाँच लाखमा खरिद गरि दुईवटा ढुङ्गा सञ्चालन गर्न स्थानीय २० जना युवाले नेतृत्व गरेको पाँचो गणेश कृषि समूहलाई नगर प्रमुख श्रेष्ठले हस्तान्तरण गरेपछि विगत चारदिनदेखि पलिस्वाँ पुखुः मा सरर ढुङ्गा चल्न थालेको हो । पोखरी सुन्दर र आकर्षक बनेपछि यहाँका घरमै बस्ने गृहणी महिलादेखि जेष्ठ नागरिकहरु भेला भएर गफ गर्ने र टहलिने थलो बनेको छ ।
सोमबार साँझ पोखरीको डिलमा लहरै बसेका नौ महिलाहरु मध्ये स्थानीय सुनकेशरी मोयश्रेष्ठले भन्नुभयो, “हामी पनि अहिले त बिहान, बेलुका पोखरीको डिलमा चक्कर लगाएर घुम्ने गरेका छाँै, घरमा बसेर दिक्क लाग्दा टहल्ने ठाउँ भएको छ, यसरी साथीहरुसँग भेटेर गफ गर्न पाएका छौँ, रमाइलो भएको छ, हाम्रो त ठाउँनै अर्कै भो ।” उहाँका अनुसार पहिला यहीँ डुङ्गा चढ्न अन्तै जानु पथ्र्यो, बच्चालाई डुङ्गा चढाउनु परे चिडियाखाना लैजानु पथ्र्यो अहिले आफ्नै ठाउँमा डुङ्गा चल्दा धेरै खुसी लागेको छ ।
लोकन्थली बस्ने शिक्षिका सुष्मा शर्मा यहाँ आएर आफैले डुङ्गा चलाउँदै टिकटक बनाउँदा मज्जा आएको बताउनुहुन्छ । मनोरञ्जन गर्ने ठाउँको अभाव भइरहेको बेलामा डुङ्गामा पोखरी घुम्न पाउँदाको मज्जा छुट्टै छ नी भन्नुहुन्छ । जिल्ला समन्वय समिति भक्तपुरकी सदस्य शकुन्तला श्रेष्ठ पोखरीको संरक्षणमा नगरपालिकाले निरन्तर चासो दिनुपर्ने, पोखरीको वरिपरि हरियाली बनाउनु पर्ने, बत्तीको व्यबस्था गर्नुपर्ने र बार हाल्नु पर्ने बताउनुहुन्छ ।
पोखरी संरक्षण र डुङ्गा चलाउने जिम्मा लिएका समूहका सुजिन्द्र होना दुई दिन निःशुल्क सेवा शुरु गर्दै सोमबारदेखि रु. २० शुल्क लिएर डुङ्गामा पोखरीको यात्रा गराउने गरेको बताउनुहुन्छ । पोखरीको संरक्षण गर्ने, सरसफाई गर्ने, मर्मत गर्ने, युवाहरुलाई रोजगारीको व्यबस्था गर्ने र यहाँ घुम्न आउनेलाई सेवा सुविधा दिने गरि डुङ्गा सञ्चालन गरेको उहाँको भनाइ छ । समूहकै अर्का राजिव नापित कुमारी पार्कमा आउनेदेखि उपत्यकाका बिभिन्न ठाउँबाट यहाँ रमाउन आउनेहरुको भीड लाग्ने गरेको बताउदै युवाहरुले पोखरीको सरसफाई गरेको, २० हजार माछाको भुरा पोखरीमा हालेको बताउनुहुन्छ । नगरपालिकाले पोखरीको वरिपरि बस्ने ठाउँ बनाइदिए, बत्ति राखिदिए र फोहोर फाल्ने डस्विनको व्यबस्था गरिदिए सहज हुने उहाँको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठका पोखरीलाई अझै सुन्दर बनाउने योजना बाँकीनै छ । पोखरीको वरिपरी निर्माण भएको १० फिट चौडाईको ढलान सहितको फुटपाथ र पोखरीको डिलमा यहीँवर्ष तेल्या इँटा छापेर खाली खुट्टाले पनि हिड्न मिल्ने गरि बनाइने र अगाडिको बाटोमा ढुङ्गा छाप्ने योजना छ । यहीँ पोखरीमा फुलेको कमलको फूलले स्थानीय लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको कमलको फूल चढाएर जात्रा चलाउने, जिब्रो छड्ने जात्रा चलाउने परम्परालाई नगरपालिकाले यसै वर्षबाट शुरु गराउने नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ । त्यसको लागि पोखरीको बिचबिचमा कमलको बोट रोपिएको छ ।