काठमाडौं, २० चैत्र ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई चुच्चे नक्साबारे प्रश्न उठाउनुभएको छ । राजधानी नयाँ दिल्लीस्थित दूतावासमा लिम्पियाधुरा कालापानी नसमेटिएको नक्सा झुन्ड्याएको प्रसंग निकाल्दै ओलीले त्यसलाई फेरेको कि त्यसै फर्किएको भनेर देउवालाई सोध्नुभएको हो । एमालेनिकट बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनलाई आज उद्घाटन क्रममा सम्बोधन गर्दै ओलीले यसो भन्नुभएको हो । ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै?,’ उनले सोधे।
यही शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा नराखिएकोमा ओलीले आपत्ति जनाउनुभएको हो । देउवा सरकारको १ सय दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि चुच्चे नक्सा नराखिएको ओलीले बताउनुभएको छ । अहिले भारतस्थित नेपाली दूतावासमा पनि लिम्पियाधुरा नसमेटिएको नक्सा राखिएकोमा ओलीले रोष प्रकट गर्नुभएको हो ।