काठमाडौं, २० चैत्र ।
अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गोली हानाहान हुँदा गोली लागि ६ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको सिन्ह्वाले बताएको छ । यो घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आज जानकारी गराएको छ । प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएको छ ।
साक्रामेन्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ । बन्दुक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ ले गरेको एक अध्ययनअनुसार यस वर्षसम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको ज्यान गएको छ । यस अवधिमा अमेरिकामा कम्तीमा एक सय १० ठाउँमा सामूहिक आक्रमण भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।