काठमाडौं, २१ चैत्र । त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी पिएनजीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो। समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पिएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो। सिरिज अन्तर्गत पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो। पिएनजीले भने निर्णायक खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो।