भक्तपुर, २१ चैत : स्थानीय बासिन्दा बीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चारवर्ष पछि बल्ल कालोपत्र भएको छ । सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिकाले रु ६० लाख बजेट विनियोजन गरी ठेक्का गरेर ढलको व्यवस्था गरी कालोपत्र गर्न बेस बिछ्याएपछि स्थानीय दुई पक्षले निकालेको बिवादका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुदैँ आएको सडक बल्ल कालोपत्र भएको हो ।
हुलाक माग सडकमा विसं २०७४ देखिको विवाद मिलाउँदै सडकको मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सीमाङ्न सकेर कालोपत्र गर्न शुरु भएपछि आएको नयाँ विवादका कारण कालोपत्र रोकिए पनि अहिले सहमति गरेर सडक कालोपत्र गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ जानकारी दिनु भयो ।
स्थानीयवासीमध्येको एक पक्षले हाइटेन्शन लाइनलाई अन्डरग्राउन्ड गरेर मात्रै सडक कालोपत्र गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत् लाइनलाई अन्डरग्राउन्ड नगरी कालोपत्र गर्नुपर्छ भन्दै विभाजित भएर बिरोध गरेपछि अन्डरग्राउन्ड र कालोपत्र गर्ने दुवै काम रोकिएको थियो ।
सडकमा दोहोरो बेस हाल्न ल्याएको ग्राभेलसमेत बिछ्याउन नदिएपछि बिरोध गरे पछि सडकको बीचबीचमा ग्राभेलको थुप्रो र कतै खाल्डो त कतै ढलको मङ्गल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको थियो । पछि नगर प्रमुखले खाल्डो पुरेर बेस बिछयाएको पनि करिब १० महिना पछि सडक कालोपत्र भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले रु दुई करोडको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अन्डरग्राउण्ड गर्दै हाइटेन्शन लाइन लैजाने गरी स्थानीयवासीसँग सहमति गरेको थियो । विद्युत् अन्डरग्राउन्ड गर्न स्थानीय उपभोक्तासँग करिब रु एक करोड संकलनसमेत गरिएको थियो । विद्युत् अन्डरग्राउन्ड गर्न रु एक करोडको सामानसमेत आइसकेको थियो । विवादबीच अन्डरग्राउन्ड गर्ने काम र कालोपत्र गर्ने दुवै काम रोकिए पनि अन्ततः नगर प्रमुख श्रेष्ठको प्रयासमा स्थानीयको सहमतिमै सडक कालोपत्र भएको उहाँले बताउनु भयो ।
नगरप्रमुख श्रेष्ठ भन्छन्, “नगरप्रमुखले पालिका अगाडिकै सडक कालोपत्र गरेन भनेर बाहिर हल्ला चलाइएको थियो, मैले धेरै पटक यहाँका बासिन्दासँग छलफल गरेर सहमतिको प्रयास गरेको थिएँ, विद्युत् अन्डरग्राउन्ड गरेर सडक कालोपत्र गर्नुपर्छ भन्ने र अन्डरग्राउन्ड नगरी कालोपत्र गर्नुपर्छ भन्ने बीचका विवादलाई अहिले मिलाएका छौँ र सडक कालोपत्र सम्पन्न गर्यौँ ।” तत्कालिलाई विद्युतको लाइन अन्डरग्राउण्ड नगरी सडक कालोपत्र गरिएको हो । अब स्थानीयले हिलो र धूलो ब्यहोर्नु नपर्ने उहाँ बताउनु हुन्छ ।