काठमाडौ, २१ चैत्र ।
श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवद्र्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ। यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६ सय ५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो। आर्थिक मन्दीको विरोधमा उनीहरूले कफ्र्यु तोडेर सरकारविरुद्र्ध याली निकालेका थिए।
यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन्। आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको बिबिसीले जनाएको छ ।