काठमाडौं, ०७ असार ।
प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् ।
आगामी कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साता प्रदेश र संघको चुनाव गराउने सरकारको तयारी छ । त्यसका लागि असार महिनाभित्रै चुनावको मिति घोषणा हुने सत्ता पक्षका नेताहरूले बताएका छन् ।
चुनावको मिति घोषणाको तयारी भइरहँदा राजनीतिक दलहरू भने गठबन्धन बनाएर उम्मेदवारी दिने या कुनै दलसँग तालमेल गरेर जाने या एक्लै प्रतिस्पर्धामा उत्रने भन्नेबारे आन्तरिक रणनीतिका लागि स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गरिरहेका छन् ।
नेपाली काँग्रेसले सत्तारुढ गठबन्धनलाई कायमै राखेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग पनि चुनावी तालमेलका विषयमा छलफल जारी राखेको छ । त्यसका लागि काँग्रेसका नेताहरूले भेटघाट र छलफललाई निरन्तरता दिएका छन् । कुन दलसँग कसरी तालमेल गर्दा चुनावी परिणाम र राजनीतिक लाभ लिन सकिन्छ भन्ने विषयमा काँग्रेस नेताहरू हिसाब किताब गर्न व्यस्त भएका छन् ।
यस्तै, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल लगायतका दलहरू चुनावी हिसाब किताब गरेर बसेका छन् । काँग्रेससहितको गठबन्धन बनाएर जाँदा आउने चुनावी परिणाम र नेकपा एमालेसँग तालमेल गरेर जाँदाको परिणाम र राजनीतिक लाभका विषयमा माओवादीले विश्लेषण गर्न थालेको छ ।