हामीसँग जोडिनुहोस

युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने नेटोको वाचा

1 मिनेट

काठमाडौं,१४ मंसिर ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग र्पुयाउने प्रतिबद्धता जनाएको छ ।
रोमानियाको राजधानी बुकारेस्टमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकमा नेटो प्रमुख स्टोलटेनबेर्गले वास्तवमा युद्धको मैदानमा रुस असफल भएको टिप्पणी गर्नुभएको छ । सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले रुसले युक्रेनमाथि जाडोयामलाई हतियारका रूपमा नै प्रयोग गर्न खोजेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।
रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी बढ्दो चिसोकाबीच बिजुली र खानेपानीबाट वञ्चित छन् । युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ । नागरिक वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध मानिन्छ ।
गएको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले रुसी सेनामाथि लागेको युद्ध अपराधको आरोपबारे खण्डन गर्दै आएका छन् ।
नेटोले एक विज्ञप्ति समेत निकालेर युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण लाखौँ मानिसलाई आधारभूत आवश्यकताबाट वञ्चित गरिएको जनाएको छ । नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी समेत दिनुभएको छ । इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ । युक्रेनमा धेरै क्षेत्रहरूमा हिउँ र शून्य तापक्रमसहित चिसो बढ्दो छ । एजेन्सी ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।