
१६ वैशाख,काठमाडौं ।
शिक्षकहरूले आज २८ औं दिनमा पनि काठमाण्डौ केन्द्रित प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन शुरू गरेका उनीहरूले आज पनि प्रदर्शन गरेका हुन् ।
प्रदर्शन शुरू भएसँगै सरकारले नेपाल शिक्षक महासङ्घको वार्ता टोलीसँग संवाद गरिरहे पनि निष्कर्षमा पुगेको छैन । विगतमा सरकार र महासङ्घबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग छ ।
गएराति अबेरसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका वार्ताकारहरूले छलफल गरेका थिए । त्यसअघि अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच छलफलसमेत भएको थियो । छलफल सकारात्मक भएको भनिए पनि निष्कर्ष निस्किएको छैन ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयमा गएराति विभिन्न विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताउनुभएको छ । आज पनि वार्ता गर्ने तयारी छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसईई परीक्षा उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ ।
यसैबीच प्रतिनिधिसभामा दर्ता भएको शिक्षकका माग सम्बोधन गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अगाडि बढेको छैन । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अगाडि नबढेको भनेर संसद्मै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । विपक्षी दलहरूले हिजो शिक्षकका माग सम्बोधनका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए ।