
भक्तपुर, १६ भदौ : सूर्यविनायक नगरपालिकाले यसवर्षदेखि संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अनिवार्य छात्रबृत्ति लागू गर्दै कार्यान्वयनमा ल्याएको छ ।
यसअघि सरकारले निर्धारण गरेको १० प्रतिशत छात्रबृत्ति विद्यालय आफैल मनोमानी रुपमा वितरण गर्ने र नगरपालिकालाई सोही अनुरुप विवरण बुझाउँदै आएकोमा यसवर्षदेखि भने छात्रबृत्तिलाई नगरपालिका मातहत ल्याएर अनिवार्य रुपमा लागू गर्ने कार्यको शुभारम्भ गरेको हो ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एव वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले विद्यालयले दिने भनको १० प्रतिशत छात्रबृत्तिलाई नगरपालिका मातहत ल्याएर अनिवार्य रुपमा लागू गरेको बताउनुभयो ।
सरकारको निर्देशिका अनुसार नगरपालिकाले छात्रबृत्ति सम्बन्धि कार्यबिधि बनाएर नगरस्तरीय छात्रबृत्ति व्यबस्थापन समिति गठन गर्दै संस्थागत विद्यालयलृे दिनु पर्ने १० प्रतिशत छात्रबृत्तिलाई नगरपालिकाले अनिवार्य रुपमा लागू गर्ने तयारी सुरु गरेको उहाँले बताउनुभयो ।
यसका लागि नगरस्तरीय छात्रबृत्ति व्यबस्थापन समितिले विद्यालयस्तरीय छात्रबृत्ति समिति गठन गरि नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको अध्यक्षतामा बैठक बसेर यसको कार्यन्वयनलाई अगाडि बढाएको हो ।
गत जेठ १७ गतेको परिपत्र अनुसार सूर्यविनायक नगरपालिका भित्र सञ्चालित ६२ वटा संस्थागत विद्यालयले अनिवार्य रुपमा दिनु पर्ने १० प्रतिशत छात्रबृत्ति मध्ये ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्न र २७ प्रतिशत गरिब विद्यार्थीलाई छात्रबृत्ति वितरण गर्ने गरि व्यबस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
यसअघि विद्यालयहरुले विद्यार्थी भर्नाको समयमा आफूखुसी विद्यार्थीलाई दिने छुटलाई छात्रबृत्तिमा परिणत गरि नगरपालिकामा विवरण बुझाउदै आएका थिए ।
अब भने नगरपालिकाले नगरपालिकास्तरबाट जेहेन्दार, विपन्न र गरिब विद्यार्थीको पहिचान गरि उनीहरुका लागि अनिवार्य छात्रबृत्ति वितरण गर्ने भएको उहाँले जानकारी दिनुभयो ।