
भक्तपुर, १५ भदौ : चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याई स्थानीयले काल भैरबको विशाल मूर्ति स्थापना गरेका छन् ।
यहाँको ४७ नम्बर कित्ता रहेको १९ रोपनी १० आना क्षेत्रफल ेसार्वजनिक जग्गालाई २०४२ सालमा मालपोतमै रहेको एक कर्मचारीको नाममा दर्ता गरि बिभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको आर्थिक वर्ष २०६०÷०६१ सालमा स्थानीयले थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।


अनुसन्धान पश्चात आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका नाममा व्यक्तिको नाममा भएको दर्ता खारेज गरि सार्वजनिक जग्गा कायम गर्न पत्राचार गरे पश्चात कार्यालयले दर्ता खारेज गरेको थियो ।
मन्दिर निर्माण उपसमितिका संयोजक ईश्वर थापाले केही व्यक्तिले हड्पेको सार्वजनिक जग्गा फिर्ता ल्याएर दुई लाख ५० हजारको लागतमा ढुङ्गाको विशाल काल भैरबको मूर्ति निर्माण गरिएको जानकारी दिनुभयो ।
मूर्ति निर्माणसंगै मन्दिर निर्माण र अन्य संरचना निर्माणमा स्थानीयलगायत बिभिन्न दाताहरुबाट संकलित करिब ६० लाखको लागतमा निर्माण सम्पन्न गरि ्प्राणप्रतिष्ठा गरेको उहाँले जानकारी दिनुभयो ।
सर्वसाधारणका लागि पूजा एवं दर्शनको व्यबस्था गरिएको बताउदै उहाँले मन्दिर परिषरमा हनुमानको मन्दिर, फल्चा (पाटी), काल भैरब पार्क, शनिदेवको मन्दिर निर्माण गरिने योजना रहेको संयोजक थापाले बताउनुभयो ।