भक्तपुर, १० कात्तिक । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी र सञ्चालकलाई कारबही गरिने बताउनु भएको छ ।
आज भक्तपुरको चाँगुनारायणस्थित मुहान गणेश बचत तथा सहकारीको १६ औं वार्षिकोत्सबमा बोल्दै उहाँले तीन तहकै सरकार मिलेर अहिले सहकारीमा आएको बिचलन र खराबीलाई नियमन गर्न लागिरहेको बताउनुभयो ।
बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सञ्चालकको बिज्ञ टोली बनाएर अनुगमन गर्ने, छानबिन गर्ने, केहीलाई पक्राउ गरेको, केहीलाई पक्राउको तयारी गरिरहेको उहाँले बताउनुभयो । सहकारीको अवस्थाबारे बुझेर मात्र बचत गर्न अनुरोध गर्नुभएको छ । शनिबार भक्तपुरको चाँगुनारायणस्थित मुहान गणेश बचत तथा सहकारीको १६ औं वार्षिकोत्सबमा बोल्दै उहाँले सहकारीले कहाँ लगानी गरेको छ र कस्तो अवस्था छ बुझेर मात्र बचत गर्न अनुरोध गर्नु भएको हो ।
मन्त्री थापाले भन्नुभयो, ‘सहकारीको अवस्था कस्तो छ ? सिद्धान्त अनुसार चलेको छ÷छैन ? भन्नेबारे बचतकर्ताले बुझ्न जरुरी छ । जिन्दगीभरीको कमाई बचत गरेर ब्याजले घर चलाउँछु भन्ने सोच्नुभएकाहरुले सहकारी कुन स्थितिमा छ ? भन्ने सोचबिचार गरेर मात्र बचत गर्ने भनेर योजना बनाउनुहोला ।’ हाल सहकारीहरु संकटग्रस्त अवस्थाबाट गुज्रिइरहँदा मुहान गणेश बचत सहकारीले भने सिद्धान्त अनुसार नै सञ्चालन गरेर बचतकर्ताको लगानी सुरक्षित राख्न सफल भएको बताउनुभयो ।
मन्त्री थापाले भक्तपुरका स्वास्थ्य सेवामा सुधार गर्न आफू लागिपरेको बताउदै उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा थप जनशक्तिको मेडिकल इक्यिुमेन्टस्को व्यबस्था गरेका छौँ, आठ करोडमा सिटीस्क्यान मेशिन जडान गर्नेदेखि एक करोड १० लाखमा क्यान्सर स्क्रिनिङ गर्ने मेमोग्राम मेशिन ल्याउन लागेका छौँ ।” उहाँले सूर्यविनायक, चाँगुनारायण नगर अस्पताललाई पनि प्रदेश सरकारले डाक्टर पठाएको बताउदै अहिले डेंगुको महामारी फैलिएकाले त्यसको रोकथामका लागि खोज र नष्ट अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संकटग्रस्त अबस्थामा पनि सबैको बचत सुरक्षित गरेर सहकारीलाई यहाँसम्म ल्याईउनु ठूलो उपलब्धी भएको बताउनुभयो । उहाँले प्रदेशकै उत्कृष्ट र ठूला सहकारीहरु पनि यही क्षेत्रमा रहेका छन् भन्दै यो सहकारीले नियम मुताबिक नै चलेका हुनाले सबैको बचत सुरक्षित रहेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकासँग स्वीकृति लिएर सञ्चालन भएका अन्य सहकारीहरुमा पनि नगरपालिकाले अनुगमन र नियमन गरिरहेकाले सुरक्षित नै रहेको बताउदै नगर प्रमुख खत्रीको भन्नुभयो, “प्रदेश सरकारले यहाँका वडा र पालिकासंग कुनै समन्वय नै नगरी जथाभावी सहकारी दर्ता गरेर पठाएको छ, त्यसले समस्या पारेको छ । स्थानीय व्यक्तिहरु सञ्चालक रहेका र विश्वासिला बाहेक अरुलाई नगरपालिकाले सहकारी सञ्चालनको स्वीकृत दिएको छैन, त्यसैले सहकारीमा रकम वचत गर्नु अगाडि नगरपालिकामा दर्ता छ कि छैन भनेर बुझ्नु होला, नगरपालिकामा दर्ता छैन र अनुमति दिएको छैन भने त्यस्ता सहकारीमा रकम जम्मा नगर्नुहोला ।” उहाँले चाँगुनारायण नगरपालिकाले सहकारीहरुको अनुगमन र मूल्यांकन गरिरहेको बताउदै स्थानीयस्तरमा रहेका संकटग्रस्त केही सहकारीलाई माथि उकासेको बतउनुभयो ।
मुहान गणेश बचत तथा ऋण सहकारीले आगामी दिनहरुमा वचतकर्ताहरुलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराएर आर्थिक स्तर उकास्नमा मद्धत पर्याउन भूमिका खेल्नुपर्ने नगर प्रमुख खत्रीले बताउनुभयो । ‘बचत उठाउने र ऋण परिचालन गर्ने मात्र नभएर सबैलाई आत्मनिर्भरतातर्फ डोहोर्याउनमा पनि सहकारीले आगामी दिनमा भूमिका खेल्नुपर्नेछ ।’ उहाँले भन्नुभयो ।
नगरपालिकाले हाल सहकारीसँगको सहकार्यमा नगरबासीको उद्यमशीलता विकासका लागि योजना बनाइरहेको बताउदै सहकारीले आफ्ना सदस्यहरुका लागि सीप मूलक कार्यक्रम सञ्चालन गरेर आयआर्जन, उद्योग र उद्यमसग जोडेर लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा मुहान गणेश सहकारीका अध्यक्ष राजकुमार लामिछाने (चमत्कार) ले सहकारीले शेयर सदस्य साथै अन्य सदस्यहरुलाई पनि आर्थिक क्रियाकलापमा सहभागी गराएर आत्मनिर्भर बनाउन लागिपरेको बताउनुभयो । उहाँले सहकारीलाई समयानुकुल बनाउँदै नयाँ प्रयोगलाई समेत आत्मसात गर्दै सदस्यहरुलाई अद्यावधिक गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा नाफा ६.०४ प्रतिशतले बढाएर २ लाख २ हजार रुपैयाँ पुर्याएको कोषाध्यक्ष भुवनकुमार श्रेष्ठले बतउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सहकारीले १ लाख ९१ हजार रुपैयाँ नाफा गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा सहकारीले ऋण परिचालनबाट १ करोड २८ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोसमेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा असल वचतकर्ता, बालबचतकर्ता, असल ऋणी, उत्कृष्ठ कर्मचारीलगायत बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा निःशुल्क दन्त शिविर गर्नुको साथै रक्तदान समेत आयोजना गरेको थियो ।