हामीसँग जोडिनुहोस

भक्तपुरमा झपक्क सयपत्री र मखमल, घरआँगनमा पुग्छन् व्यापारी, किसानलाई भने चटारो

7 मिनेट

-रमेश गिरी

भक्तपुर ११ कात्तिक : बारीभरी ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्ती भित्रका सिंगो परिवारलाई भ्याई नभ्याई । भक्तपुरमा सबभन्दा बढी फूल खेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरको आँगन, डीलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको श्रोत समेत बनेको छ ।

अचेल काठमाडौं उपत्यका भित्र सबैभन्दा बढी फूल खेती हुने ठाउँको नामले चिनिने गरेको छ गुण्डु । यहाँका किसानले व्यबसायीक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म पनि टिप्न चटारो छ ।

 

यसरी सुरु भयो, गुण्डुमा व्यवसायीक फूल खेती :

पाँच दशकभन्दा अगाडिदेखि भक्तपुरमा व्यवसायीक रुपमा मखमलीको फूलखेती हुने ठाउँ चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमाला समुदाय हो । यहाँका बनमाला समुदायले मखमली फूलको खेती गर्न र तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पुर्याएर आर्थिक उपार्जन गर्दै आएका थिए । यस क्षेत्रमा अहिलेपनि यो समुदायले फूलखेती गर्दै आएको छभने उनीहरुकै सिको गर्दै बनमाला बाहेक ताथलीका अन्य समुदाय एवं जातजातीका स्थानीयवासीले पनि विगत १० वर्षदेखि सयपत्री र मखमलीको फूलखेती गर्दै आएको छन् ।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यवसायीक रुपमा करोडौको फूल तथा माला बिक्री गर्ने गरि यहाँ फूल खेती सुरु भएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्व.पहलमान नगरकोटीले करिब ४० वर्ष अघि मखमली फूलको व्यवसायीक खेती सुरु गरेको तथ्य फेला परेको बताउनुहुन्छ गुण्डुका वडाध्यक्ष रबिन्द्र सापकोटा ।
गुण्डुमा उहाँबाट सुरु भएको फूलखेती अहिले व्यवसायीक फूलखेती गर्ने नमूना वडाको पहिचानसमेत बनेको छ । स्व.नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमान्ले ४० वर्ष अगाडि मखमलीको खेती सुरु गरेको बताउदै उत्पादन भएका फूल विक्रीका लागि गुण्डुदेखि पैदल भक्तपुर बजार जाने गरेको बताउनुहुन्छ ।

भक्तपुरदेखि काठमाडौका पशुपति, चावहिल, असन, इन्द्रचोक लगायतका बजारमा फूल बिक्री गर्न लैजादा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तितो यथार्थ उहाँ सुनाउनुहुन्छ । त्यतिबेला बजारमा अरु व्यापारीसंग लुकेरै भएपनि एउटा माला एक सुकामा बेचेर आएको रकमले घरको १० जनाको परिवारको खर्च टार्नु पर्ने बाध्यता रहेपछि अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको श्रोत बनेको उहाँ बताउनुहुन्छ ।

गाउँका अरुका माला पनि बजार पुर्याउने स्वं नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उहाँको पत्नी देवकुमारी आफ्नो घरबाट सुरु भएको खेती अहिले गुण्डुमा मुख्य खेतीको रुपमा बिकास भएका र अहिले व्यापारी घरघरमा आएर फूल लैजाने गरेको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ ।

अहिले यहाँका बासिन्दाको अतिरिक्त आम्दानी मात्रै नभई कतिपय महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गरेर बजार बिस्तार भएको छ । वडा स्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्षसमेत रहेकी स्वं नगरकोटीको छोरी उर्मिला नगरकोटी यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमान्को आशामा गर्नुपर्ने अबस्था नरहेको बताउनु हुन्छ ।

घरखर्चका लागि ऋण समेत नपत्याउनेहरु फूलखेतीबाटै बुबाले तीन, चार लाखसम्म कमाउन थालेपछि भने ऋण पुर्याउन आउने गरेको स्मरण गर्दै उहाँले बुबाको देहान्त पछि पनि घरका १० जनाको परिवारले फूलखेती र पसलबाटै राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । फागुनमा बेर्ना राखि चैत्रमा रोपेपछि असारदेखि फूल्न थाल्छ । हप्तामा एकपटक फूल टिप्दै निरन्तर ४ महिना सम्म टिप्न मिल्छ । अहिले यो ठाउँमा सयपत्री १२ महिना फुलाउने गरि खेती भइरहेको छ ।

किसानलाई नगरपालिकाको ८० प्रतिशत अनुदान :

गुण्डुमा पुष्प व्यवसाय निकै राम्रो भएपछि सूर्यविनायक नगरपालिकाले पुष्पखेतीको पकेट क्षेत्रको रुपमा यस क्षेत्रलाई बिकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदान स्वरुप वितरण सुरु गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता सापकोटा बताउनुहुन्छ । नगरपालिकाले सानाकिसान कृषि सहकारी संस्था मार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरि १० रुपैयाँ पर्न बिरुवालाई आठ रुपैयाँ अनदान दिई वितरण गर्दै आएको बताउदै उहाँले यसवर्ष १० लाख बराबराको ५५ हजार बेर्ना स्थानीइ ३७८ परिवारलाई वितरण गरेको बताउनुहुन्छ ।

गुण्डुमा मात्रै करिब ७०० रोपनी भन्दा बढी जमिनमा व्यवसायीक फूल खती भएको बताउदै उहाँले भन्नुभयो, “यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो श्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि गाँसेर ५० देखि १०० वटा मखमली फूलको माला झुत्तो बनाएर राखेर र बोरामा हालेर राखेर तिहार नजिकिएपछि बिक्री बढेको छ ।”

गुण्डुबाट प्रत्येक वर्ष करिब चार करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउदै उहाँले यसवर्ष पनि सोही अनुपातमा फल बिक्री हुने बताउनुभयो । फूलको व्यापारमा पनि बिचौलिया हावी भएको भन्दै उहाँले बिचौलिया रोक्न सके र पुष्प किसान एवं व्यवसायीलाइ सिधै बजार पुर्याउन सके अझै आम्दानी बढ्ने उहाँ बताउनुहुन्छ ।

यसो भन्छन् स्थानीय पुष्प व्यवसायी :

राष्ट्रिय कृषक समुह महासघ नेपालको राष्ट्रिय उपाध्यक्ष एवं महिला किसान मन्चको प्रमुख स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउनु हुन्छ । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताउदै उहाँले असार महिनादेखिनै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउनुहुन्छ । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने ६ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ ।

असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उहाँ बताउनु हुन्छ । सयपत्री फूल पनि असार साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखिनै बिक्री हुने सयपत्री फूल मंसीर पुससम्म पनि बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु. १० देखि रु. १५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले ढ्वाङ्को ५०० दखि ७०० रुपैयाँसम्ममा र किलोमा जाखेर बिक्री गर्दा किलोको रु. १५० सम्म लिने गरेका छन् । लोकलभन्दा हाइब्रिज सयपत्री फूलको भने व्यापारीले बढी मूल्य तिर्ने गर्छन् ।

यसवर्ष तिहार नजिकिएपनि व्यापारी विगत वर्षको तुलनामा कम आएको भन्दै उहाँले गतवर्षभन्दा व्यापार कम भएको र विदेश निर्यात पनि यसवर्ष कम हुने देखिएको बताउनुहुन्छ । यहाँका कृषकले वर्षमा कम्तिमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै रु २० देखि २५ रुपैयामा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला रु. २० देखि रु. २२ मै बिक्री हुने भएपनि बजारमा लैजादा व्यापारीलाई रु. ४० सम्ममा बिक्री गर्ने र यही माला खुद्रा बजार पुर्याउन सके रुं ५० रुपैयासम्म आउने पुष्प व्यवसायी बस्नेत बताउनुहुन्छ ।

घरघरमै आउँछन् फूल किन्न व्यापारी :

दशै सकिए पछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकोले यहाँका कृषकलाई बजार पाउन सहज भएको छ । घरमा आउने व्यापारीलाई बजारमा भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् । गतवर्ष १५ सय माला बिक्री गरेकी स्थानीय मिना नगरकोटीले यसवर्ष एक रोपनी जग्गामा फूलखेती गरेको बताउदै यसवर्ष पनि गाउँमै आएको व्यापारीलाई फूल माला बिक्री गरेको बताउनुहुन्छ । एक रोपनी क्षेत्रफलमा लगाएको मखमली फूलबाट ८० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ ।

फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिने भन्दै उहाँले गुण्डुमा सयपत्रीका बिभिन्न जात र मखमलीलगायत अन्य फूलहरुको समेत खेती सुरु भएको बताउनुहुन्छ । अहिले दैनिक १० हजार मखमली फूलको माला व्यापारीले गाउँमै आएर लाने गरेको उहाँ बताउनुहुन्छ । गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उहाँले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताउनु हुन्छ । यहाँका बासिन्दाले दशै सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् ।

खेताला लगाउँदा एउटा मालाको पाँच रुपैया ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उहाँ बताउनु हुन्छ । कतिपयले गाउँ पसेका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसंग सम्पर्क गरि बजार मै पर्याउने गरेका छन् । असारदेखि फूल टिपेर गाँसेर झुत्तो बनाएर राखेको मखमली फलको माला तिहार नजिकिएपछि बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पुग्छन् भक्तपुरका फूलमाला :

अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केहीवर्ष यता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी बस्नेत बताउनुहुन्छ । नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्याउन पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “विगत केहीवर्षदेखि अन्तर्राष्ट्रिय बजारका व्यापारी मार्फत यहाँका फूल तथा माला पुर्याउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरु किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु ।” सम्पर्क व्यक्ति मार्फत यहाँको फूल तथा मालालाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका बिभिन्न देशमा पुग्ने गरेका छन् । यसवर्ष भने अन्तर्राष्ट्रिय बजारमा फूल निर्यात कम हुने देखिएको उहाँ बताउनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।