
ललितपुर, चैत ८ ।
जिल्लामा आजदेखि आइतबारसम्म कोरोनाविरुद्ध बुष्टर डोज लगाइने भएको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिन लागेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको बताएको छ। ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती र कोन्ज्योसोम गाउँपालिकामा एकै दिन ९ र १० गते खोप लगाइँदैछ भने महांकालमा १० देखि १२ गतेसम्म लगाइँदैछ।
महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी चैत १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय ललितपुरका सूचना अधिकारी पार्थमणि न्यौपानेले जानकारी दिए।
५५ वर्षमाथिका व्यक्ति र बुष्टर खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घरोग भएका १२ वर्षमाथिकालाई पहिलो चरणमा खोप लगाइनेछ। यसअघि पहिलो मात्रा लगाएको ६ महिना पछि मात्र यो दोस्रो मात्राको बुष्टर लगाउन मिल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक सतीश विष्टले बताए। पहिलो डोज नलगाएकाको हकमा भने पहिलो बुष्टर लगाइदिने व्यवस्था हुनेछ। पहिलो चरणका लागि करिब ६४ हजार ३५० जनाका लागि खोप आवश्यक भए पनि जिल्लामा मात्र ३१ हजार खोप उपलब्ध भएको उनले बताए।
ललितपुर महानगरपालिकामा १५ हजार, महालक्ष्मी नगरपालिकामा ५७२४, गोदावरी नगरपालिकामा ३१८८, महांकाल गाउँपालिकामा ८८६, कोन्ज्योसोम गाउँपालिकामा ७४९ र बागमतीमा ४९० जनालाई पुग्ने खोप उपलब्ध गराएको कार्यालय प्रमुख विष्टले जानकारी दिए। उनका अनुसार बाँकी रहेकालाई केही समयमै पुनस् खोप लगाउने व्यवस्वस्था मिलाइने छ।
स्वास्थ्य अधिकृत इन्दु जोशीका अनुसार पहिलो बुष्टर नलगाएका ५५ वर्ष माथिका सबै नागरिकलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने तयारी छ।