
भक्तपुर, १० असार : भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक मार्गको रुपमा रहेको भक्तपुर–नगरकोट सडक खण्ड चाँगुनारायण नगरपालिकाले स्तरोन्नती एवं कालोपत्र गर्ने कार्य तिब्र गतिमा गरेको छ ।

शारदा कन्स्ट्रक्सनले विगत ११ वर्षदेखि ठेक्का लगाएर अलपत्र पारेको सडक सरकारले ठेक्का रद्ध गरे लगत्तै नगरपालिकाले बालपत्र आव्हन गरि सम्झौता गरि स्तरान्नती एवं कालोपत्र सुरु गरेको थियो । गत बैशाखदेखि चाँगुनारायण नगरपालिकाले सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट व्यबस्थापन गर्ने गरि भक्तपुर नगरकोट सडक स्तरोन्नती एवं कालोपत्र कार्य तिब्र गतिमा गराएको छ । नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नती आफ्नै आन्तरिक श्रोतबाट गर्ने गरि रु. १७ करोडमा बोलपत्र आव्हान गरि रु. १४ करोडमा ठेक्का सम्झौता गरि स्तरोन्नती एवं पुर्ननिर्माणसंग कालोपत्र सुरु गरेको थियो ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको ११ वर्षमा १० औ पटक म्याद थप गरेर लागत बढाउदै ३१ करोड पुर्याउँदा पनि बिभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभई सिंगो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हदैन । मैले जनतासंग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पुरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नती गर्न ठेक्का सम्झौता गरि अहले तिब्र गतिमा आसप्लान्ट पिच (कालोपत्र) गर्ने कार्य भइरहेको छ, अब केही दिनमा सम्पन्न गर्छौँ ।”

सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पुरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भेगकाले यो सडकलाई पुरा गर्न भक्तपुर नगरकोट सडकको स्तरोन्नती आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रीय सरकारले यो सडक पुन स्तरोन्नती गर्न यसवर्ष बजेट नभएको र प्रक्रियामा जादा प्रक्रिया पुरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैले आन्तरिक श्रोतबाट व्यहोर्ने गरि कालापत्र सुरु गरेको उहाँले बताउनभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, “सम्बन्धित मन्त्रालयसंग र सडक विभागसंग छलफल गरेरै काम थालनी गरेका हौँ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरि खाल्डो पुर्ने र सडकको स्तरोन्नती गरेर कालोपत्र गर्छौ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरि छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरेको दुई सातामै तिबै गतिमा काम भएको छ, अब केही दिनमा भक्तपुर नगरकोट सडक कालोपत्रमा सरर कुद्न सकिन्छ । आज नगरकोट खण्डमा सडक पुर्ननिर्माण एवं स्तरोन्नतीको कामको प्रगति र अबस्था जानकारी लिन नगर प्रमुख खत्रीसहितको टोलीले अवलोकन एवं अनुगमन गरेको छ ।