
काठमाडौँ,०८ चैत्र ।
जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको छ ।
आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने छ। बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुनेछ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा २ मा हुने उप निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय छ । त्यसको आधिकारिक निर्णय हुन बाँकी छ । क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारको विषयमा निर्णय भएर आउनुपर्ने हुन्छ ।
बैठकमा मन्त्रीपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा छलफल हुने बताइएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ, मन्त्रीमा कसलाई पठाउने, कति जना पठाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।पार्टीमा मन्त्रीका आकाङ्क्षी धेरै देखिएका छन् । त्यसलाई कसरी टुगों लगाउने पार्टीमा चुनौती देखिएको छ । मन्त्रालय भागबन्डामा जसपाले दुईटा मन्त्रालय पाउने सम्भावना देखिएको छ ।
चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय पार्टीले गरिसकेको छ । विधान संशोधनको मस्यौदा पनि तयार भइसकेको छ । त्यसमा सुझाव लिने काम पनि पार्टीमा भइरहेको छ ।विधान अधिवेशनका लागि मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ ।