
१४ साउन, मकवानपुर ।
६ वर्षको अवधिमा बागमती प्रदेश सरकारको जम्मा ९४ अर्ब ३२ करोड ८८ लाख १९ हजार रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७४(०७५ देखि यता ६ वटा आर्थिक वर्षमा ल्याएको बजेटको ३६ प्रतिशत फ्रिज भएको हो ।६ वटा आर्थिक वर्षमा गरी प्रदेश सरकारले हालसम्म २ खर्ब ६४ अर्ब ४४ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये १ खर्ब ७० अर्ब ११ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने ९४ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ फ्रिज भएको छ ।
बागतमी प्रदेश सरकार गठन भइ काम सुरु गरेको यो छैटौं वर्ष हो । प्रदेश सरकारले हरेक आर्थिक वर्षमा प्रदेशको विकास निर्माणका लागि बजेट सार्वजनिक गर्ने गरेको छ । जस अनुसार प्रदेश सरकारले हालसम्म ६ वटा बजेट ल्याएको छ । ६ मध्ये ५ वटा बजेट प्रदेश सरकानर आफैले ल्याएको छ भने सुरुवाती वर्ष प्रदेश सरकारलाई केन्द्रीय सरकारले बजेट उपलब्ध गराएको थियो ।
२०७४ माघ ३ गते तत्कालीन सरकारले संघीयता कार्यान्वयन गर्दै साविक प्रदेश ३ को राजधानी हेटौंडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको थियो भने सोही वर्षको मंसिरमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरु सदस्य रहने गरी प्रदेशसभा गठन गरेको थियो ।
उक्त प्रदेशसभाबाट २०७४ माघ २८ गते तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेबाट निर्वाचित डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गरिएको थियो ।
प्रदेश सरकार स्थापनाको समयमा ७ मन्त्रालय र निकाय रहेकामा हाल ११ मन्त्रालय कायम छन् भने तथा प्रदेश सरकार अन्तर्गत १९८ निकायले प्रदेशका १३ जिल्लाका ३३ संघीय निर्वाचन क्षेत्र, ६६ प्रादेशिक निर्वाचन क्षेत्र र ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तहमा विकास निर्माणका काममा बजेट खर्च गर्दै आएका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश सरकारका काम कारबाही सञ्चालनका लागि संघीय सरकारले चालुतर्फ ८७ करोड ९३ लाख ५९ हजार रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ११ लाख ५१ हजार गरी कुल १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । त्यस यता प्रदेश सरकारले आफैँले बजेट ल्याएर विभिन्न विकासको काम गर्दै आएको छ ।
प्रदेश सरकारले २०७५(०७६ मा पहिलो पटक आफैँले बजेट ल्याएको थियो । प्रदेश सरकारले सो वर्षका लागि चालुतर्फ १३ अर्ब ७५ करोड ३८ लाख रुपैयाँ र पुँजीगत तर्फ २० अर्ब २७ करोड २२ लाख रुपैयाँ गरी कुल ३४ अर्ब २ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
आर्थिक वर्ष २०७६(०७७ मा प्रदेश सरकारले चालुतर्फ २० अर्ब १३ करोड एक लाख रुपैयाँ र पुँजीगत तर्फ २७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ गरी कुल ४७ अर्ब ३० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आर्थिक वर्ष २०७७(०७८ मा प्रदेश सरकारले कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो भने आर्थिक वर्ष २०७८(०७९ मा चालुतर्फ २२ अर्ब ५० करोड ५० लाख रुपैयाँ, पुँजीगत तर्फ ३३ अर्ब २१ करोड ५८ लाख रुपैयाँ गरी कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
गत आर्थिक वर्षमा भने प्रदेश सरकारले ७० अर्ब ९३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालुतर्फ २६ अर्ब ८४ करोड रुपैयाँ, पुँजीगततर्फ ४४ अर्ब नौ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।