
साउन २०, काठमाण्डौ ।
वाग्मती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले यो आर्थिक वर्षमा कमाउँदै(सिक्दै कार्यक्रम लागू गर्न लागेको हो ।
शिक्षालाई व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविकोपार्जनमा जोड्ने गरी कार्यक्रम गर्न लागेको शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
यो कार्यक्रम लागू गर्न कार्यविधि बन्ने चरणमा रहेको छ । विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम गर्न लागिएको निर्देशक दर्जीले बताउनुभयो ।
सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उहाँले बताउनुभयो । यसअघि यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालू आर्थिक वर्षमा निर्देशनालयले गर्न लागेको हो । अबका दिनमा कुन काम गर्न चाहेको हो विद्यालयसँग आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने निर्देशनालयले जनाएको छ ।