भक्तपुर, २३ साउन । अबिरल परेको वर्षाका कारण भक्तपुरमा बाढी र पहिलोले व्यक्तिको घर, मन्दिर, विद्यालय, अस्पताल डुबानमा परेको छभने बाढीमा फसेकाहरुको उद्धार गरिएको छ ।
भक्तपुर नगरपालिका–४ स्थित हनुमन्ते खोला किनारामा रहेको ऐतिहासिक राममन्दिरमा गजुरबाहेक सबै डुबानमा परेको छ । मन्दिरसँगै चौघेरा सञ्ल, पाटीमा खोलाको बाढीसँगै माटो र बालुवा पसेर क्षति पुर्याएको छ । मन्दिर डुबानमा परेपछि मन्दिरमै बस्दै आएका चार जनाको नेपाल प्रहरी र स्थानीयले उद्दार गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
डुबानमा परेको मन्दिर परिसरमा फसेका ८२ वर्षीय भोजराज खरेल ( महाराज हरिदाष), ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीय सिता राईको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाको थुसाचाको हनुमन्ते खोलामा ३० मिटर परसम्म बगाएको १० वर्षीय बालक र मनोहरामा बगाएको एक बालकलाई स्थानीयले उद्धार गरेका थिए ।
त्यसैगरि दोलखा भिमेश्वर नगरपालिका–५ माटी घरभई हाल चाँगुनारायण नगरपालिका–१ सम्थली गणेश मन्दिर नजिक बस्ने ३५ वर्षीय बिदुर के.सीको चार कोठे अस्थायी घर पहिरोमा पुरिएको छ । घर पछाडीबाट ढिस्को भत्केर आएको पहिरोले घर पुरिदा घर पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने नभउको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
घर पुरिने बित्तिकै सशस्त्र प्रहरी दुवाकोट गण भक्तपुरको टोली र स्थानीयको सहयोगमा घरका मानिसहरुको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । हनुमन्ते खोलामा आएको बाढीले सिद्धिस्मृति बाल अस्पताल एवं बृद्धाम डुबानमा परेको छ । अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सूचना जारी गरि अर्को सूचना नआएसम्मका लागि भन्दै अस्पतालको समपूर्ण सेवा बन्द गरिएको जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष श्याम धौभडेलले बाढी अस्पतालमा पसेपछि लाखौको प्राबिधिक सामग्री नष्ट भएको र बिरामीहरुलाई सास्ती भएको र नयाँ बिरामी, ओपिडी लगायतका अस्पतालबाट दिदै आएको सबै सेवा तत्कालका लागि बन्द गरिएको बताउनुभयो ।
त्यसैगरि हनुमन्ते खोलाको बाढीका कारण दाहसंस्कार गर्दै आएको हनुमानघाटका सबै क्षेत्र डुबानमा परेका छन् । सूर्यविनायकको शान्ति निकेतन मावि आधा डुबानमा परेपछि विद्यालय बन्द गरिएको छ । विद्यालयका बिभिन्न सामानमा क्षति पुगेको छ । हनुमन्ते खोला किनाराका आसपासका बस्ती र टहराहरुमा पानी पसेर क्षति पुगेको छ ।
त्यसैगरि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज बाढीग्रस्त क्षेत्रको अनुगमन गर्नु भएको छ । उहाँले भनपा– १ धालाखुसी, वडा नंं ३ बाराही पुल, वडा नं. ४ स्थित राममन्दिर र शान्ति निकेतन माध्यमिक विद्यालय र वडा नं. ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएको क्षेत्रहरुमा स्थलगत निरीक्षण गर्नुभएको हो । डुबानले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् ।
यता हनुमन्ते खोलाको बाढी पसेर बालकोट, कौशल्टार र गठ्ठारघका सयौ घरमा पानी पसेर क्षति पुर्याएको छ । हनुमन्ते करिडोर नबनेको क्षेत्रमा बाढी पसेर सयौ घरको भुई तलामा सबै सामानहरुमा क्षति पुगेको छ । घरभित्र पानी पस्न थालेपछि घर छाडेर मानिसमा भागाभाग भएको थियो ।
यता मध्यपुरथिमिको कमेरोटार जग्गा एकिकरण आयोजना भित्रका बस्ती र सडकसमेत डुबानमा परेका छन् भने यहाँका विद्यालयसमेत बन्द भएको छ । आयोजनाले सानो ढल हालेकाले ढलबाट बाहिर पानी निस्किएर सडक डुबानमा परेको र ढलबाटै पानी फर्केर घरघरमा पानी पस्ता क्षति पुगेको स्थानीय इन्द्रप्रसाद प्रजापतिले बताउनु भयो । आयोजनाको लापर्वाहीले धेरै क्षति पुगेको उहाँको भनाइ थियो ।
त्यसैगरि मनोहरा खोलामा आएको बाढीले जडिबुटीस्थित १०० भन्दा बढी घर रहेका मनोहरा सुकुम्वासी बस्तीमा समेत क्षति पुगेको स्थानीय रमेश पौडेलले जानकारी दिनुभयो । सुकुम्वासी बस्तीको भुई तला पूर्ण रुपमा डुबानमा पर्दा खाद्यान्न, लत्ता कपडा, भाडाकुडामा क्षति पुगेको छ भने कुखुरा, हाँसलगायतका घरपालुुवा पंक्षीहरु बगाएको उहाँले बताउनु भयो । बस्ती भित्र रहेको विद्यालयको पठनपाठनसमेत बन्द भएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाढी र पहिरोको क्षति रोक्न र उद्धार गर्न जनशक्ति तयारी अबस्थामा राखिएको बताउदै त्यस्तो संकट आए तत्कालै प्रहरी, प्रशासन र स्थानीय तहलाई खबर गर्न आव्हान गर्नु भएको छ ।