भक्तपुर, २० भदौ । भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाइजात्रा पर्व आजबाट सम्पन्न भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरि साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
जनै पूर्णिमाको भोलीपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सातदिनसम्म गाईजात्रा मनाउने गरिन्छ ।
गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपरान्ह भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जंगली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो । आजै भैरब मन्दिरहरुमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाहरुले टोल टोल घुमेर नारायणलाई बत्ति दिएका छन् ।
कृष्ण जन्माअष्ठमीको अवसरमा भक्तजनहरु वाकुपती नारायण आरतीमा सहभागी भएका छन् । सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरुभई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ । यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो ।
बालकदेखि युवासम्मले शिर, हात र काँधमा बत्ती बालेर नगरवासीलाई वाकुपती नारायणको आरती दर्शन गराइन्छ । आरती लगाउने बेला महिलाहरु सांकृतिक भेषभुषा हाकुपटासी लगाएर हातमा सुकुन्डा लिएर नगर परिक्रमा गर्छन् । भक्तपुरमा मानाइने बिस्केट जात्रा, गाईजात्रा जस्तै यो पर्व पनि नगरवासीको अभिन्न अंग बनेको छ ।
श्रीकृष्ण जन्माष्टमी समेत रहेकाले नारायणको पुजा गरि नारायण बत्ति बालेर आज भक्तपुरका बालबालिका एवं युवाहरुले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।
आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि बिधिवत रुपमा गाइजात्रा सम्पन्न भएको मानिने जोशीले बताउनु भयो ।