हामीसँग जोडिनुहोस

२३ वर्षदेखि बाटिकामा उभिरहेछन् लौह पुरुष गणेशमान सिंह 

7 मिनेट
-रमेश गिरी
भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जंगलको पूर्वपट्टीको छेऊमा सुन्दर बगैचासहितको बाटिका ।
नजिकै सानो पालेघर । बाटिकाको बीचमा देशका राष्ट्रपतिको आगमन पर्खेर विगत २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक । हो यही शालिक आज स्व. सिंहको पूण्यतिथि एवं २६ औं स्मृति दिवसको अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको शालिकले पूर्णता पाउने भएको छ ।
२०५४ सालमा स्थापना भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले बृहत गुरुयोजना सहित तयार पारेको वाटिकाका अझै कयौ संरचनाले पूर्णता पाउन बाँकी नै छ ।
तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरिदिएको उक्त क्षेत्रफलमा गणेशमानको शालिक र वाटिका निर्माण भएको हो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो कार्यालय भवन निर्माण गरेको समितिका अध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले जानकारी दिनुभयो ।
२०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा  अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण हुन नसक्दा वाटिका र शालिक अलपत्र जस्तै बनेको थियो ।
समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना तयार पारेको थियो ।
यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहलाई अस्विकार गर्दै उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेपछि नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर संग्रहालयय निर्माण गरि राख्ने लक्ष्य वाटिकाले लिएको छ ।
प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे समितिका महासचिव कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।
समितिका संस्थापक अध्यक्ष एवं शालिकसहितको वाटिकाको परिकल्पनाकार स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्व अध्यक्ष सुनिल बासु र वर्तमान् अध्यक्ष बस्नेतले वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका थिए । स्व. गणेशमान सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकोत्ता गएको, त्यहीं राजनीतिक संघसंगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै राणाशासनको अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनमा सर्वोच्च कमान्डर भएको, प्रधानमन्त्रीका प्रस्ताव अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायतका घटनालाई समेत उजागर गर्ने भौतिक संरचना बाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइए पनि त्यस्ता धेरै संरचना भने अझै निर्माण हुन सकेका छैनन् ।
गुरुयोजना कार्यान्वयनमा ल्याउन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । यही गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक बाटिकाभित्रै पाउन सकिन्छ गरि गुरुयोजना तयार पारिएको थियो । प्रधानमन्त्रीको पद अस्वीकार गरि त्यागी नेताको थप पहिचान बनाउनु भएका  नेपाली प्रजातान्त्रिक जनआन्दोलनका शिखर व्यक्तित्व स्व.सिंहले देशमा आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि स्थायी नहुने धारणा राख्दै आउनु भएको समितिका अध्यक्ष बस्नेत स्मरण गर्नुहुन्छ ।
वाटिकामा सबै संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च हुने गरि ऐतिहासिक गुरुयोजना निर्माण गरेकाले सरकारले पर्याप्त बजेटको व्यबस्था गरेर गुरुयोजना पूर्णता दिनु उहाँले सरकारसँग आग्रह गर्नु भएको छ ।
बिवादपछि अलपत्र गुरुयोजना ः
समितिले पब्लिक, प्राइभेट पार्टर्नरसिपको अबधारणा अनुसार साखः ग्रुपलाई करिब रु.१४ करोडको लागतमा पाँचवर्षभित्र गुरुयोजनामा समेटिएका सबै भौतिक संरचना निर्माण सम्पन्न गर्नेगरि ३९ वर्षका लागि उक्त जग्गा भाडामा दिने सहमति गरेको थियो ।
तत्कालिन उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह संरक्षक तथा सोही क्षेत्रका सभासद रामेश्वर ढुंगेल अध्यक्ष रहेको वाटिकालाई होटल सञ्चालनका लागि ३९ वर्षे भाडामा दिने, त्यस अबधीभरी हुने आम्दानीको २० प्रतिशत रकम वाटिकाको कोषमा आउने र ३९ वर्षपछि निर्माण भएका सबै संरचना वाटिकाको स्वामित्वमा हस्तान्तरण गर्ने गरि समितिका संस्थापक अध्यक्ष रामेश्वर ढुङ्गेल र साख ग्रुपको तर्फबाट प्रभातप्रकाश साखबीच २०७१ असार १२ गते सम्झौता पत्रमा हस्ताक्षण भएको थियो ।
तर दधिकोट र कटुन्जेका जनताले उपभोग गरिरहेको खानेपानी ट्यांकी र ऐतिहासिक सुवर्णेश्वर महादेव मन्दिर पनि वाटिका परिषरभित्रै परेकाले त्यसलाई असर पुग्ने गरि सरकारी सम्पत्ति नीजि क्षेत्रलाई व्यापारिक क्षेत्र निर्माणका लागि दिन लागेको भन्दै एमालेका नेता निर्मलकुमार भट्टराईलगायतले बिरोध गर्दै अख्तियारमा समेत उजुरी हालेपछि समिति सम्झौता रद्ध गर्न बाध्य भएको थियो ।
वाटिकाका लागि तयार पारिएको गुरुयोजना आफैमा ऐतिहासिक थियो, त्यो संरचना निर्माण हुन सके गणेशमान लगायत देशका जनआन्दोलनमा सेनानी एवं सहितहरुको जीवनी समेटिएएको अध्ययन अनुसन्धानको केन्द्र सहितको संग्रहालय, पुस्तकालय निर्माणमा सरकारले चासो दिनु पर्ने समितिका अध्यक्ष बस्नेत बताउनु हुन्छ ।
संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद रामेश्वर ढुङ्गेलको निधनसँगै अलपत्र जस्तै बनेको सिंहको शालिक र वाटिकालाई पूर्व अध्यक्ष वासु र वर्तमान् अध्यक्ष बस्नेतसहितको नेतृत्वको समितिले सुन्दर वाटिका निर्माणसँगै शालिक अनावरण गर्ने कार्य सम्पन्न गर्नेतहसम्म पुर्याएको छ ।
साँसदहरुले निर्माण भइसकेको स्व. गणेशमान सिंहको पूर्णकदको सालिकको लागि समेत ४१ लाख रुपैयाँ छुट्याएका थिए भने सालिक निर्माणस्थलको भौतिक निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट २० लाख र सांसद मनमोहन भट्टराईले चार लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रदेश सभा सदस्य शशीजंग थापाले यहाँको भौतिक संरचना निर्माणका लागि रु.२५ लाख बजेट वागमति प्रदेशबाट र बाटिका प्रवेश गर्ने सिंढी सुधारको लागि नगर विकास प्राधिकरणले थप २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तत्कालिन जिविस, गाविस, नगर विकास समिति, संरक्षण समिति र जनश्रमदानबाट करिब रु. २७ लाख लागतमा कार्यालय भवन निर्माण गरेको थियो ।
समितिले ३३ करोडको लागतमा वाटिकाको सम्पूर्ण संरचना निर्माण हुने र यसलाई गणेशमानको मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत् वगर्ने महत्वपूर्ण सबै व्यक्तिहरुको जीवनी, अध्ययनशालासमेत निर्माण गरेर देशकै ऐतिहासिक स्थल बनाउने अभियानमा तीन तहकै सरकारले पर्याप्त बजेटको व्यबस्थापन गरिदिए केही वर्षमै गुरुयोजनाले पूर्णता पाउने छ ।
गुरुयोजनालाई पूर्णता दिन सके यस क्षेत्रलाई आन्तरिक एवं बाह्य ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने, इतिहासकाबारेमा अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न सकिने समितिका जगन्नाथ कार्की बताउनु हुन्छ ।
यसकारण बिर्सन सकिन्न गणेशमानलाई :
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसक नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले चिनिए जस्तै नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिदै आएको छ ।  बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम पनि हीराकाजी थियो ।
जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।
उमेरले बिपी कोइरालाभन्दा १४ महिनामात्रै कान्छा गणशमान वि.सं. १९७२ कात्तिक २४ गते जन्मिनु भएको हो । त्यसैले पनि बिपी र गणेशमान समकालीन नेता र खुबीवान हुनुहन्थ्यो । दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको मात्रै भएन २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भएको मानिन्छ । बिपी र सिंहकै योगदानका कारण २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याएको बताइन्छ ।
काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुलमा राणाहरुका छोराछोरीलाई मात्र पढ्ने अवसर पाउँदा ६ कक्षामा पढ्दै गर्दा एकै कक्षाका राणाको छोरालाई तँ भन्ने शब्द प्रयोग गरेकै कारण विद्यालयबाट निकालिए पछि राणा शासन बिरुद्ध मनमा क्रान्तिको सुरुवात गरेको मानिन्छ । आठ वर्षको उमेरमै पिता गुमाउनु भएका सिंहले आफ्नो २४ वर्षको उमेरमा वि.सं. १९९६ सालदेखि नेपाल प्रजापरिषद्को सदस्य भई राणाशासन बिरोधी आन्दोलन र राजनीतिमा सक्रिय हुनु भएको थियो ।
वि.सं. १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावास राखिएपछि वि.सं. २००१ साल असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल हुनुभएपछि गणेशमानले ‘वीर’ को प्रख्याति पाएको बताइन्छ ।
२०१५ सालको आमनिर्वाचनमा गणेशमान सिंह कांग्रेसको मन्त्रिपरिषद्मा मन्त्री भएपनि सन्तुष्ट हुन नसकेपछि पदको लागि राजनीत नगर्ने र देशका लागि लागिरहने घोषणा गरेको र २०४६ सालको ऐतिहासिक सफलतापछि तत्कालिन राजा बिरेन्द्रले दरबारमै बोलाएर प्रधानमन्त्री बन्न
प्रस्ताव राख्दा नमानेर कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेपछि उहाँको उचाई अझै बढेको थियो ।
२०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग मिलेर राजतन्त्र बिरोधी प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल भएपछि जनतालाई जहानिया राणा र एकदलीय राजतन्त्रबाट मुक्त दिलाई जनतालाई स्वतन्त्रता प्रदान गर्ने महान व्यक्तित्व गणेशमानलाई सबैले सम्झनै पर्छ । नेता सिंहको २०५४ साल असोज २ गते निधन भएर उहाँको भौतिक शरीर नभएपनि यहाँको देश र जनताप्रतिको योगदान युगौयुग बाचिरहने छ ।–

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।