हामीसँग जोडिनुहोस

सूचना अधिकारीनै पाउदैनन् सूचना 

3 मिनेट
भक्तपुर, : सरकारी कार्यालयका सूचना अधिकारीनै सूचना पाउदैनन् भन्दा पत्याउनै गाह्रो हुन्छ । तर विगत सात महिनादेखि जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारीले भने यस्तै तितो यथार्थ भोग्दै आउनु भएको छ ।
यस कार्यालयको अबस्था र सेवाकाबारेमा समाचार संकलनका लागि गएको राससका प्रतिनिधिले कार्यालय प्रमुख नासु. लोकबहादर कार्कीलाई कार्यकक्षमा नभेटे पछि सूचना अधिकारी विजयप्रसाद धौभडेलको कार्यकक्षमा पुग्दा आफूले कार्यालयको कुनै सूचनानै नपाउने गरेको गुनासो गर्नुभयो ।
जुद्ध वारुण यन्त्र भक्तपुर कार्यालयका कयौ पटक कार्यवाहक प्रमुख, दुई पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएका धौभडेल अहिले कार्यालयमा प्रमुख पछिको दोश्रो वरियतामा रहदै सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । आफू नाम मात्रको सूचना अधिकारी भएको भन्दै धौभडेलले आफूले कार्यालयको कुनै सूचना नपाउने गरेकाले सूचना माग्न आउनेलाई सूचना दिन नसकेको बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, “३८ वर्ष भयो, यहीँ कार्यालयमा सेवा गर्दै आएको, मेरो आफ्नो जिल्लाको दमकल कयौ चुनौती खेप्दै यहाँसम्म पुर्याएका छौँ, यहाँ धेरै कार्यालय प्रमुखहरु आउनु भो जानु भो, सधै राम्रै भयो, पुराना सरुवा भएर गएपछि नयाँ नआउदा दुई पटक मैले नै प्रमुखको जिम्मेवारी सम्हाले, कयौ पटक कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाले, कहि कतैबाट गुनासो आएन, तर अहिले सात महिनादेखि आफ्नै कार्यालयमा अपमान खेप्नु पर्दा मलाई मात्रै होइन यहाँका अधिकांश कर्मचारीको मनोबल गिरेको छ ।”
सूचना अधिकारी धौभडेलसँग कार्यालयकाबारेमा मागेको कुनै सूचना दिन सक्नु भएन । उहाँसँग जे सोधे पनि थाहा छैन हाकिमसँग सोध्नु्स् न भन्ने जवाफ मात्रै आयो । कार्यालय समयमा कार्यालयमा नभएका हाकिमसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।
सूचना अधिकारी धौभडेलले भन्नुभयो, “कर्मचारीको बिवरण पनि थाहा छैन,सामान्य प्रक्रिया पनि पुरा नगरी तालिम नलिएका नयाँ कर्मचारी आफैले तोक लगाएर हाकिमले राखेको धेरै पछि थाहा पाए, त्यसको बिबरण पनि आएको छैन, दुई कर्मचारीलाई निस्काषण भएछ, त्यसको कारण पनि थाहा छैन, बिदामा बस्दा कसलाई कामु दिनु हुन्छ, त्यो पनि पत्तो छैन, कति बजेट आएको छ, कति बजेट नगरपालिकाहरुले दिएका छन्, कति खर्च भयो, यहाँकाबारेमा मलाई केही थाहा छैन, सरी है सबै हाकिमलाई सोध्नुस् ।”
यस कार्यालयमा दुई पुरानासहित चार वटा दमकल छन । धौभडेल आफै प्रमुख हुँदा मध्यपुरथिमि नगरपालिकाले खरिद गरेको दमकल र चाँगुनारायण तथा सूर्यविनायक नगरपालिकाले खरिद गरेको एक गरि दुई वटा नयाँ दमकल थप गर्न सफल भएका थिए । ती दुई दमकलको इन्धन, जोखिम भत्ता, मर्मत खर्च तीन नगरपालिकाले व्यहोर्दै आएका छन् ।
यहाँ चार दमकल, तीन वटा पिकअप भ्यान (जसमध्ये एक चल्दैन), एक पानी ट्यांकर, एक जर्मन गाडी रहेका छन् । कार्यालय प्रमुखले कार्यालयको दुई वटा भ्यान आफैले प्रयोग गर्दै आएको कर्मचारी बताउँछन् ।
कार्यालयका सहायक कम्युटर अपरेटर सुवास पोखरेलले १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हवल्दार र दुई जना क्लिफर, एक नासु, दुई खरिदार, एक सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगी रहेको बताउनुभयो ।
उहाँले यस वर्ष चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले पाँच÷पाँच लाख रुपैया बजेट दिएको जानकारी पाएको बताउनुभयो । कार्यालयबाट खर्चको बिल पठाए अनुसार नगरपालिकाहरुले रकम भुक्तानी गर्ने गरेको उहाँले बताउनुभयो ।
इन्धनको कुपन भने कार्यालय प्रमुख आफैले बाड्ने र प्रयोग गर्ने गरेकाले वर्षमा कति इन्धन खर्च हुन्छ भन्ने जानकारी सूचना अधिकारी लगायत कसैले नपाएको उहाँको भनाइ छ । धौभडेल आफैले भने तलबबाहेक कार्यालयबाट इन्धनलगायत अन्य कुनैपनि सेवा सुबिधा नलिने गरेको बताउनुहुन्छ ।
विगतमा पूर्वमा सिन्धुपाल्चोक तातोपानीसम्म र नुवाकोटको बञ्चरेडाँडासम्म आगो निभाउन यहाँको दमकल जाने गरेपनि अहिले भने भक्तपुरमै आगोलागी हुँदा पनि काठमाडौं र ललितपुरबाट दकमल मगाउनु पर्ने अबस्था आएको कर्मचारीको गुनासो छ । कर्मचारीले विगत दुई महिनादेखि तलब नपाएको गुनासो पोखरेलले गर्नुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।