
काठमाडौं,चैत २२ ।
सरकारले नयाँ शैक्षिक सत्रको लागि वैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गरेर वैशाख दोस्रो हप्तादेखि नियमित पठनपाठन थाल्न निर्देशन दिएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना नै जारी गरेर सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई उक्त निर्देशन दिएको हो।
विकास केन्द्रले चैत्र १५ गते बाट नै नयाँ पाठ्यपुस्तक बिक्री वितरण शुरु भइसकेकाले विद्यालयले समयमै पाठ्यपुस्तक खरिद गरी नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई वैशाख महिनाको पहिलो हप्तामै पाठ्यपुस्तक वितरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
स्रोत विकास केन्द्रले विद्यालयहरूलाई आ(आफ्नो सेवा क्षेत्रभित्रका अभिभावकलाई टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालसमेतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न लगाउने व्यवस्था मिलाउनु भनेको छ।