जेठ ८, एजेन्सीँ।
इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति चयन गर्न जुन २८ तारिख अर्थात् आउँदो असार १४ गते चुनाव हुने त्यहाँको सरकारी निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति इब्राहिम रायसीको अस्ति आइतवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको छ । इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । रायसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिनुभएको थियो ।
इरानमा राष्ट्रपतीय चुनाव सन् २०२५ मा हुने तय भएको थियो । अघिल्लो चुनावमा रायसीलाई चुनौती दिन सक्ने नेतालाई उम्मेदवार बन्न दिइएको थिएन । इरानले राष्ट्रपति रायसी, विदेशमन्त्रीलगायत नौ जनाको दुर्घटनामा ज्यान गएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति पद दोस्रो वरीयताको हो । राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिनुहुन्छ । तर देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको महत्त्वपूर्ण प्रभाव हुने गर्छ ।