हामीसँग जोडिनुहोस

महिला नेतृत्वले फेरिएको नेपालकै दोस्रो जेठो भक्तपुर अस्पताल, बन्यो देशभरकै उत्कृष्ट

8 मिनेट

-रमेश गिरी

भक्तपुर, २४ जेठ : सेतो लामो एक तल्ले भवन । जस्ताको छानो भएपनि राणकालिन शैलीझै देखिने उक्त भवनमा आज भन्दा १२० वर्ष अगाडि “श्री चन्द्रलोक डिस्पेन्सरी” को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोश्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ ।

स्थापनाको १०० वर्ष पार गरिसक्दा पनि सेवा बिस्तारदेखि स्तरोनन्तीमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चंगुलमा पर्दा वर्षैसम्म रिफर सेन्टरको रुपमा परिणत भइरहयो । भ्रष्टाचार सम्बन्धी बिवाद आइरहयो, जनताको विश्वास गुम्दा विरामीले भक्तपुर अस्पताल रोज्न थाले । भक्तपुर अस्पताल आफै बिरामी भनेर कयौ पटक समामचार आएपनि सुध्रिएन ।

तर कोरोना महामारीको संकटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुग्नु भएकी एक महिला प्रमुखको अथक मिहेनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेश मध्येका उत्कृष्ठ अस्पताल र यसवर्ष देशभरीमा अस्पताल मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो ।

भ्रष्टाचार, कमिसन र माफियाको चंगुलबाट असपताललाई जोगाउने हो र निश्चित नियम एवं मापदण्डको परिधि भित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरि फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेश्रो पटक मेडिकल डाइरेक्टर भएर आउनु भएकी डा. सुमित्रा गौतमले चरितार्थ गरेर देखाउनु भएको छ ।

अस्पतालको इतिहास :

तत्कालिन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको “श्री चन्द्रलोक डिस्पेन्सरी” नामबाट स्थापना गर्नुभएको भक्तपुर अस्पताल अहिले नेपाल कै दोश्रो जेठो अस्पतालको रुपमा परिचित छ । बि.सं. १९४७ साउन १२ गते श्री ३ बीर शमसेरले स्थापना गरेको नेपालकै पहिलो बीर अस्पताल पछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ ।

बि.सं. २०५१ सालमा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसंगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यानसर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा. अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गर्दै २०५६ साल असोज २१ गते तत्कालिन राजा श्री ५ बिरेन्द्र बीर बिक्रम शाहले उद्घाटन गर्नु भएको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुबिधा सम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि १२० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ ।

भक्तपुर नगरपालिका वडा नं. १, दुधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्ष पछि बि.सं.२०२८ सालमा ५० शैयामा विस्तार भई जिल्ला स्तरीय अस्पतालको पहिचान बनाएको थियो । बि.सं. २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो । बि.सं. २०६१ भदौ २८ गते २५ शय्याको प्रसुती सेवा थप भई ७५ शय्यामा बिस्तार हुदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा बिस्तार गरि सञ्चालनमा आएको थियो ।

ईच्छा शक्तिले ल्यायो अस्पताल नयाँ स्वरूप :

अस्पतालको जीर्ण र साँधुरो भवन, अगाडि आँगनमा ठूलो चौर । कोरोना महामारीमा राख्ने शय्याको अभाव । न आईसियू, न भेन्टिलेटर, नत जनशक्तिनै पर्याप्तता । कोरोना महामारीमा उपचार नपाउने अबस्थामा पहिलो पटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मंसीर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आउनु भएकी डां सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गर्नुभयो ।

उहाँको पहलमा अस्पताल स्थापना भएको ११५ वर्षपछि पहिलो पटक कोभिड कालमा भक्तपुरमा आइसियू सेवा सुरु भयो । वागमति प्रदेश सरकारले कोभिडको बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा ६ र पछि १० शय्या थप गरि १६ शय्याको सघन उपचार कक्ष (आईसियू) सञ्चालन भयो । त्यसपछि आइसोलेशन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारको लागि २० शय्याको पिआईसियू र एनआईसियू सहित १८८ शय्यामा सेवा बिस्तार गर्दै संकटकालमा पनि गुनासो नआउने गरि अस्पतालले सेवा सञ्चालन गर्यो ।

चाइनाबाट पहिलो पटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सवत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो संकटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालिन मेसु डा. गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अंगका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो ।

२०७७ साउन २५ गते संघीय मन्त्रालयको निर्णय अनुसार १०९ शय्या थप गरि यो अस्पताल २०९ शय्या सञ्चालनको लागि स्वीकृति प्राप्त भई कोभिड–१९ (कोरोना भाइरस)को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आईसियूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो । कुरुवा घर, सुन्दर बगैचा, बिरामी र आफन्त बस्ने बिश्राम स्थल लगायतका संरचनाहरु निर्माण हुँदा अस्पतालप्रति विरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामी समेत यहाँ आउन थालेपछि बहिरंगतर्फ दैनिक ३०० विरामी आउने अस्पतालमा दैनिक ८०० बिरामीको चाप पुगेको छ ।

रिफरल सेन्टरको रुपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्यांङ्नमा पहिलो पटक वागमति प्रदेशको उत्कृष्ठ अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई ३०० शय्यामा स्तरोन्नती गर्ने निर्णय गरि १६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै अस्पतालको स्तरन्नोती गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरि करिब ८ करोड मूल्यको सिटी स्क्यान मेशिन खरिद गर्ने भएको छ ।

यसो भन्छन् अध्यक्षहरु :

सेवा बिस्तार गर्न नसक्दा, आइसियू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य चेकजाँच पछि निजी अस्पतालमा रिफर गर्ने परम्पराले क्लिनिकको रुपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छा शक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाईलाई डा. गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल बिकास समितिका पूर्व अध्यक्ष नवराज गेलाल बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “म दुईवर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहदाँ दुई जना मेसु फेरिए, मैले पटक पटक मन्त्रालय धाएर पाँच शय्याको आइसियू सञ्चालनका लागि सबै सामान ल्याए तर तत्कालिन मेसुले आइसियू सञ्चालन गर्ननै चाहनु भएन, अस्पताललाई प्यारालाइसिस बनाउने कि बलियो बनाएर रफ्तार लाने भन्ने इच्छा मेसुमा हुने रहेछ, कमिसन र भ्रष्टाचारको दलदलमा अस्पताल फस्दो रहेछ, अहिले त्यो दलदलबाट अस्पताललाई डां गौतमले माथि उकास्न सफल हुनु भयो र अस्पतालको स्वरुपनै फेरिएको देख्दा धेरै खुसी लाग्छ ।”

अस्पताल विकास समितिका निवर्तमान् अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा बिकास गर्नु पर्ने बताउनु हुन्छ । आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भएपनि असफल भएको भन्दै केन्द्रीय सरकारको छाँयामा परेको र आफ्ना स्वार्थ मात्रै हर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउनुहुन्छ । अहिले अस्पतालको मुहार फेरिएको देख्दा अस्पताल छिर्दा पनि आनन्द आउने बताउदै उहाँले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धिन मन्त्रालयले अनावश्यक सरुवा गर्नै नहुने बताउनुहुन्छ ।

अस्पताल विकास समितिको वर्तमान् अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताउनुभयो । विरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चंगुलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उहाँ बताउनु हुन्छ ।

अस्पतालको सेवा र स्वरुप परिवर्तन गर्न सफल अस्पताल निर्देशक डा. गौतम पनि मेडिकल माफियाको दबाबमा परेर अस्पताल सुधारका योजनालाई अलपत्र पारेर दुई पटक यो अस्पतालबाट अन्यत्र सरुवा हुनु परेको उहाँ बताउनुहुन्छ ।अस्पतालकी निर्देशक डा. गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ ।

डा. गौतमले आफ्नो कार्यकालमा अस्पतालमा दुरबिन प्रविधि बाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क अप्रेशन तथा निःशुल्क प्रसूति सेवा लगायत बिभिन्न सेवाहरु बिस्तार गरेको बताउदै उहाँले अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको बताउनुहुन्छ ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवा समेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउनुहुन्छ ।

अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र विहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै बिभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात एनोमली स्क्यान र दूरबिन प्रविधिबाट अप्रेशन सेवा समेत सञ्चालनमा ल्याएको छ ।

पटक पटकको सरुवाले योजना अलपत्र :

सिन्धुली अस्पतालबाट २०७६ मंसीर २० गते भक्तपुर अस्पताल सरुवा भएर आउनु भएकी निर्देशक डा. गौतमले दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक २५० देखि ३०० बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक ८०० भन्दा बढी बिरामी धान्दै आएको छ । बढुवा भएर ११ औ तहमा पुगेपछि स्वाथ्य मन्त्रालयले  उहाँलाई २०७८ माघ १० गते प्रसुती गृहमा सरुवा गरेपछि पुनः अस्पतालको सेवा खस्किएको भन्दै विरामीको चाप घट्दै ४०० मा पुगेको अस्पतालका तथ्यांक शाखाको भनाइ छ ।

अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आउनु भएकी उहाँले बन्द भएका बच्चाको आइसियू, एनआइसियूलगायत बिभिन्न सेवाहरु सूचारु गरि, प्रसुती सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव ७ प्रतिशत अंक ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पताल मध्ये उत्कृष्ठ अस्पतालको पहिचान बनाउन सफल भयो ।

२०८० साउन २८ गते पुनं उहाँको सरुवा भएसंगै अस्पतालको सेवाको गुणस्तर खस्किएको र विरामीको चाप घछेर ४०० मा पुगेको अध्यक्ष कायस्थ बताउनु हुन्छ । स्थानीयबासी, कर्मचारी सबैको माग भएपछि पुनः २०८० माघ १७ गते भक्तपुर अस्पतालको निर्देशक भएर डा. गौतम आएपछि सेवा गुणस्तरमा बृद्धि भएसंगै सरकारको न्यूनतम सेवा मापदण्डमा मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क ल्याई गत बैशाख २० गते सरकारले देशभरकै उत्कृष्ठ अस्पताल भएको घोषणा गर्यो ।

अस्पतालकी निर्देशक डां गौतमले आफ्नो योजना, बिकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलो पटक २०७७ मा ७४ अङ्क, ०७८ मा ८४ अङ्क ल्याउन सफल हुदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यसवर्ष ९८ अङ्क आएर देशकै उत्कृष्ठ अस्पताल बनेकोमा आफूलाई खुसी लागेको बताउनु हुन्छ ।

अस्पतालको निर्देशक डां गौतमको लगनशिलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यसवर्ष पनि उत्कृष्ठ अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले अस्पतालमा तेश्रो पटक सरुवा भएर आउनु भएकी निर्देशक डां गौतम र अस्पताल टिमले तयार पारेको योजनाहरु सफल नहुदै सरुवा गर्न नहुने अध्यक्ष कायस्थ बताउनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।