जेठ २६, एजेन्सी।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायता घोषणा गरेका छन्।
पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उहाँले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गर्नुभएको हो।
नयाँ प्याकेजमा हवाई रक्षा इन्टरसेप्टर, तोपखाना गोलाबारुद र अन्य ‘महत्त्वपूर्ण क्षमताहरू’ समावेश रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ।
अर्को भिन्नै विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउण्ड रहेका छन्।
जेलेन्स्कीले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि वार्ता गर्ने तयारी गर्नुभएको थियो।