
-रमेश गिरी
भक्तपुर, ३ साउन : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालको राजनीति शुद्ध गर्न सके मात्रै देश शुद्ध हुने बताउनुभयो ।
आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सूर्यविनायक नगर समितिले आयोजना गरेको एसईई‐२०८० सम्मान कार्यक्रममा बोल्दै उहाँले देशको राजनीतिलाई शुद्धिकरण गर्नु पर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “देशको नेतृत्व गर्ने प्रणाली नै राजनीति हो, पार्टीका नेताहरुको नेतृत्व, भिजन, र व्यबहारले गर्दा जनतामा निराशा छाएको छ, राजनीति, नेतृत्व र नेता शुद्धिकरण गर्नु पर्ने आजको आवश्यकता हो ।” राजनीति सिसाको घरजस्तै छर्लङ्ग भएको चर्चा गर्दै उहाँले कसले के गरेको छ, के हुदैछ, सबै जनताले देखेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री पुनले भन्नुभयो, “राजनीतिलाई स्थासिसयत्व बनाउन सकेका छैनौ, देशमा रहेको राजनीतिक संक्रमणको प्रभाव अर्थ, सामाजिक र शिक्ष क्षेत्रमा समेत देखिएको छ । त्यसैले पनि राजनीतिलाई शुद्धिकरण गरेर लैजानु पर्छ ।”
विभिन्न अवसर खोज्दै विदेशिने नेपाली विद्यार्थीलाई राज्यले आफ्नै देशमा केही गर्न सक्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिदै उहाँले थोरै समय देशको लागि खर्च गर्नुस् भन्ने सन्देश नयाँ पुस्तालाई दिनु पर्ने बताउनुभयो । निजी क्षेत्रको बिकल्प नभएको भन्दै उहाँले सरकारी एवं सामुदायिक विद्यालयले निजी विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा ल्याउनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी विद्यालयले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति बनाएका छन्, निजी विद्यालयलाई रोक्ने नीति ल्याउने होइन, सरकारले सरकारी विद्यालयलाई गुणस्तरीय बनाओस निजी विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने बनाओस, त्यसपछि विद्यार्थी सरकारी विद्यालयमा जान्छन्, निजी विद्यालय आफै बन्द हुन्छन् । बन्द गर्ने नीति होइन, प्रतिस्पर्धा गर्ने नीति ल्याउनु पर्छ ।”
कार्यक्रममा प्याब्सन सूर्यविनायकका अध्यक्ष दिनेश मैनालीले नेता पुनलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।
कार्यक्रममा भक्तपुरबाट एसईई‐२०८० मा भक्तपुरबाट चार जिपिए ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो । भक्तपुरबाट मोर्डन इङ्लिश स्कुल दधिकोटका बुमिरा माकजू, युनिटी इङ्लिश स्कुल कटुञ्जेका आशिष थापा क्षेत्री, मनोरम बोर्डिङ सेकेण्डरी स्कुल कटुञ्जेका प्रनिशा बखुन्छे, हिमाल एकेडेमी गुण्डूका बिपना मिश्र, मेधा मावि तेखापुखू भक्तपुरका अंशुदिल प्रजापति र एसओएस हर्मन माइनर मावि सानोठिमी भक्तपुरका आर्यन न्यौपानेलाई सम्मान गरिएको थियो ।
त्यसैगरि सूर्यविनायक नगर प्याब्सनमा आबद्ध विद्यालयहरुबाट एसईईमा उत्कुष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्षहरु टिआर ढकाल, कृष्णप्रसाद अधिकारी, दिपिका थापा रिमाल, रत्न कटुवाल, प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, मिड भ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ जोशी, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, प्याब्सन कागेश्वरी मनोहराका अध्यक्ष श्रीराम दाहाल, मध्यपुरथिमि प्याब्सन अध्यक्ष निलेश आचार्यलगायतले शिक्षामा क्रान्ति आवश्यक रहेको बताउदै सरकारले निजी विद्यालयको योगदानको उचित मूल्यांकन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन सूर्यविनायकका अध्यक्ष दिने मेनाली, उपाध्यक्ष बिनोद काफ्ले, प्याब्सनका केन्द्रीय, प्रदेश र बिभिन्न जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरुले निजी विद्यालयको योगदानलाई भुल्न नहुने बताउनुभयो ।