
१५ कात्तिक,काठमाडौँ ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।
लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज साँझ युवा युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् ।
यस्तै,नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा(मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।