काठमाडौं : २८ कार्तिक।
भारतको केरला राज्यको वायनाड र महाराष्ट्रको नान्देड लोकसभाको रिक्त पदमा आज उपचुनाव हुँदैछ। वायनाडमा हुन गइरहेको रिक्त लोकसभा सिटमा कंग्रेसकी महासचिव प्रियंका गान्धी मुख्य दावेदार छन्। प्रियंका गान्धी लामो समयदेखि राजनीतिको वरिपरि रहे पनि पहिलो पटक चुनावी मैदानमा उत्रएिका कारण वायनाडलाई मुख्य चासोका साथ हेरिएको छ।
यसैवर्ष सात चरणमा सम्पन्न लोकसभा चुनावमा कंग्रेस नेता राहुल गान्धीले दुई लोक सभा सिट केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट चुनाव जितेका थिए। तर, भारतीय संसदमा एक क्षेत्रको मात्र प्रतिनिधि गर्ने प्रावधान रहेको कारण राहुलले रायबरेलीलाई छानेर वायनाडको पद त्यागेका थिए। रिक्त पदका लागि कंग्रेसले प्रियंका गान्धीलाई उठाएको हो। कंग्रेसको गढ मानिएको वायनाडमा प्रियंकाले राहुलभन्दा पनि अत्याधिक मत ल्याउन सक्ने अनुमान गरिएको छ।
वायनाड सिटका लागि १६ उम्मेदवार मैदानमा छन्। त्यहाँ १४ लाख अधिकारिक मतदाताले भने मतदान गर्ने छन्।
यस्तैझारखण्डमा ४३ विधानसभा सिटका लागि मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आज ११ राज्य राजस्थानको ७, विहारका ४, मध्यप्रदेशका २, छत्तीसगढको एक, पश्चिम बंगालका ६, असमका ५, कर्नाटकका तीन, सिक्किमका २ र गुजरात, केरल र मेघालयका एक एक विधानसभा सिटका लागि मतदान भइरहेको छ।
विधानसभा सिटमा आज बिहान ६ बजेबाट मतदान सुरु भएको छ भने वायनाडका लागि ७ बजेदेखि मतदान भएको छ। सबै राज्यको मतगणना २३ नोभेम्बरमा हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।