४ मंसिर,काठमाडौँ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि उच्चस्तरीय समितिको बैठक मंगलबार बस्दैछ । पूर्वअध्यक्ष तथा समितिका संयोजक शेष घलेको अध्यक्षतामा दिउँसो ३ बजे संघको बालुवाटारस्थित सचिवालयमा बैठक बस्न लागेको हो ।
बैठकबाट सबै पक्षबीच एकताको आह्वान गर्दै सर्वोच्च अदालतको फैसलाअनुसार एकताको १० औँ महाधिवेशन गर्नका लागि सकारात्मक पहलकदमी लिने गरी अघि बढ्ने घलेको तयारी छ ।समितिकी सदस्य रविना थापाले विदेशमा रहेका सबै नेपालीको चाहना, भावना र अपेक्षा अनुसार एनआरएनएलाई अघि बढाउन सबै प्रतिबद्ध हुनुपर्ने बताइन् ।
घलेले अघिल्लो मंगलबार विज्ञप्ति प्रकाशित गर्दै बालुवाटारस्थित संघको कार्यालयमै बैठक राखेसँगै बैठकमा सहभागी हुन केही सदस्य काठमाडौँमा आइसकेका छन् भने आउन नसक्नेहरू भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।
घले नेतृत्वको उच्चस्तरीय समितिमा १३ जना रहेका छन् ।
समितिका सदस्य विनोद कुँवरले अब एकताको महाधिवेशन गर्न घले अघि बढिसकेको भन्दै असहयोग गर्नेहरूलाई सबैले चिन्ने र एनआरएनए बिगार्ने को रहेछ भन्ने स्पष्ट हुने बताए । उनका अनुसार सर्वोच्च अदालतको चैत २१ मा भएको फैसलाले गठित उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्ने छ । एकताको महाधिवेशन गर्नकै लागि गत कात्तिक १ मा परराष्ट्र मन्त्रालयले संघ र घलेलाई पत्राचार गरेको थियो । एनआरएनएमा हाल विनो कुँवर, बद्री केसी र आरके शर्मा गरी तीन वटा समूह रहेको छन् । तिनवटै समूहलाई मिलाएर एकताको महाधिवेशन गराउनुपर्ने दायित्व घलेमाथि रहेपनि बद्री केसी समूहले सर्वोच्चको अर्को फैसलाले ११ औँ महाधिवेशनबाट निर्वाचित आफूहरुले आधिकारिकता पाएको दाबी गर्दै आएको छ ।