चितवन, १८ मंसिर । चितवनको रत्ननगरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई २५ शैयामा स्तरोन्नती गरिएको छ । बहिरंग सेवा मात्रै दिंदै आएको चिकित्सालयलाई २५ शैयाको अन्तरंगमा विस्तार गरिएको हो । नयाँ भवन निर्माण गरी सेवा विस्तार गरिएको छ ।
अस्पतालसँगै आयुर्वेद औषधि उत्पादन केन्द्रको पनि सोमबार उद्घाटन गरिएको छ । केन्द्रले हाल १० प्रकारका आयुर्वेद औषधि उत्पादन गर्न शुरु गरेको छ । चिकित्सालय र केन्द्रको उद्घाटन बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापामगरले गरेका छन् । कार्यक्रममा मन्त्री थापामगरले आवश्यकता अनुसार जनशक्ति र उपकरण थप गर्दै लैजाने बताएका छन् । बागमती प्रदेश सरकारको पहिलो २५ शैयाको आयुर्वेदिक चिकित्सालय यही भएको भन्दै मन्त्री थापामगरले अन्य १३ वटा जिल्लामा पनि चिकित्सालय रहेको र सेवालाई प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिए । ‘आयुर्वेदिक सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न तीन वटै सरकार मिलेर अघि बढ्नु पर्छ’, उनले भने ।
चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीले भवन निर्माण र चिकित्सालयका बारेमा जानकारी दिंदै २५ शैयाको अन्तरंग सेवा सहित विभिन्न सेवाहरु थप गरेर सेवा शुभारम्भ गरिएको बताइन् । स्व.पण्डित गुरुदत्त आचार्यको पहल कदमी र आग्रहमा तत्कालिन आयुर्वेद विभागका महानिर्देशक डा. दामोदर चालिसेबाट गुरुशिक्षा स्वरुप वि.सं. २०५१ सालमा यस चिकित्सालय स्थापना भएको जानकारी दिइन् । वि.सं. २०८० पुसमा बागमती प्रदेश सरकारले २५ शैयाको अस्पताल बनाउने निर्णय गरेको भन्दै भवन निर्माणको काम पनि तोकिएको समयभन्दा छ महिना अघि नै सम्पन्न भई सञ्चालन गर्न सक्षम भएको बताइन् ।
अस्पतालमा हाल बहिरंग (ओपिडि) सेवा, २७ किसिमका आयुर्वेदिक औषधि निःशुल्क वितरण, सशुल्क फार्मेसी सेवा, पूर्वकर्म–पञ्चकर्म सेवा, शिरोधारा, अकुपञ्चर, निःशुल्क फिजियोथेरापी सेवा, प्रयोगशाला, भिडियो एक्सरे सेवा, योग, प्राणायम, जीवनशैली व्यवस्थापन लगायतका सेवा सञ्चालनमा रहेका छन् ।
यसैगरी, घुँडा खिईनेहरुका लागि विभिन्न उपचार सेवा, जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्वन कार्यक्रम, सुत्केरी आमाका लागि निःशुल्क दुग्ध वर्धक आयुर्वेदिक औषधि वितरण, उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वासजन्य रोग, मानसिक रोग निराकरणका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार बिहान ८–१० बजेसम्म निःशुल्क प्रयोगशाला परीक्षण, स्वास्थ्य परामर्श एवं उपचार उपलब्ध गराउँदै आएको प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।
त्यसैगरी, पत्थ आहार कार्यक्रम साप्ताहिक रुपमा र पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुका लागि समग्र शारीरिक एवं मानसिक विकासका लागि स्वर्णविन्दु प्रसान कार्यक्रम प्रत्येक महिना सञ्चालन गरिरहेको उनको भनाई छ । चिकित्सालय विस्तारसँगै पायल्स फिस्टुलाका लागि छारसूत्र सेवा, विस्तारित पञ्चकर्म सेवा लगायतका सेवा दिन शुरु गरिएको डा. अधिकारीले बताइन् । कोभिड १९ पछि आयुर्वेदिक सेवामा सेवाग्राहीको आकर्षण बढेको समेत उनले बताइन्। बागमती प्रदेश सरकारको करिब ४ करोड रुपैयाँ बजेटमा भवन निर्माण गरी चिकित्सालयलाई विस्तारित रुपमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा चितवन क्षेत्र नं. १ का सांसद हरि ढकाल, प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशी, संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका नि.निर्देशक डा. श्यामबाबु यादव, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल, चिकित्सालयका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले आयुर्वेदिक उपचार र प्रभावकारी महत्त्वका बारेमा चर्चा गरेका छन् ।