हामीसँग जोडिनुहोस

स्वरसम्राट नारायणगोपालको स्मृति दिवस मनाइदै

1 मिनेट

काठमाडौं,१९ मंसिर।

 मंसिर १९। स्वरसम्राट नारायणगोपालको स्मृति दिवस। बुधबार उनको ३४औँ स्मृति दिवस मनाउन लागिएको हो।

नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्।

काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्।

साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए।

‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’,  ‘श्रद्धाको फूल चढाइदिनु’  ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’,​ ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका सारा देव छोएर’ लगायत उनका गीत लोकप्रिय छन्।

आधुनिक गीतका साथै उनी पार्श्वगायनमा समेत रुचाइएका गायक हुन्। परिवर्तन, सिन्दुर, बदलिँदो आकाश, लाहुरे, चोट चिनो, दक्षिणालगायत चलचित्रमा उनको आवाज सुन्न सकिन्छ। उनले तारादेवी, अरुणा लामा, दिलमाया खाती, मीरा राणा, ज्ञानु राणा, कमला श्रेष्ठ र भारतीय गायिका आशा भोसलेसँग पनि केही युगल गीत गाए।

कुशल स‌गीतकारसमेत रहेका नारायणगोपालले भक्तराज आचार्य, फत्तेमान र अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका थिए। उनको संगीतमा लोचन भट्टराईले र रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित छ। यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि भट्टराई र ढकालले स्वर दिए।

उनले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाए। उनको निधन २०४७ मंसिर १९ गते  भयो।  उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो।

दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे। पेमलाको निधन २०६१ असार १६ गते  भएको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।