
काठमाडौँ,२३ मंसिर ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गरेका छन् । मन्त्री दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका हुन् । शनिबार राती ९ बजे उनी मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले जानकारी दिइएको छ ।
दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।