काठमाण्डौ,२ पुष ।
सहकारी ठगी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।
लामिछाने सहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङलाई पनि अदालत पुर्याइएको छ।
सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्त शर्माले बताए।
६१ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको सम्भवतः आज अन्तिम पटक म्याद थपिने छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने संलग्न भनिएको सूर्यदर्शन सहकारीको अनियमितता सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ। अभियोजनको तयारीमा रहेको सरकारी वकिल कार्यालयले पुस ६ गतेभित्र जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराउनुपर्ने छ।
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको हो।