काठमाडौं,२२ माघ।
आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ ।विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले देशभर तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एपीभी) खोप दिन लागिएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो ।
त्यसैगरी अभियानका लागि ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।