===================================================
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमको माध्यमबाट समेत चिनाउने अवसर पाएको चर्चा गर्दै चाँगुनारायण नगरपालिकाले समग्र नगरपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको बताउनुभयो ।
===================================================
भक्तपुर, ५ फागुन : भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा आज सम्पन्न उपत्यका मेयर्स फोरमको ११ आँै बैठकले २०८२ बैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष सफल पार्ने निर्णय गरेको छ ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागि वागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरु, नगर प्रमुखहरु, उपप्रमुखहरुलगायत जनप्रतिनिधिहरुको बैठकले तीन तहकै सरकारले भ्रमण वर्ष सफल पार्न सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उपत्यका मेयर्स फोरमसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको भन्दै उहाँले त्यसका लागि नियमित छलफल आवश्यक रहेको बताउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए धेरै क्षेत्रमा अगाडि बढ्न सकिने औल्याउनुभयो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारको सहयोग रहने बताउनुभयो ।
त्यस्तै काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुको धुँवा प्रदुषण परीक्षण प्रविधि कार्यान्वयनमा ल्याउने, काठमाडौं उपत्यकाका अस्पालजन्य फोहोरमैला ब्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । प्रदेश सरकार र स्थानीय तहबीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाड र अन्तरतह समन्वय सम्बन्धी विषयमा छलफल गर्नुको साथै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्नेबारे सहमति भएको थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमको माध्यमबाट समेत चिनाउने अवसर पाएको चर्चा गर्दै चाँगुनारायण नगरपालिकाले समग्र नगरपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको बताउनुभयो । उहाँले भ्रमण वर्षका लागि मेयर्स मोरमलगायत
प्रदेश सरकारलाई निमन्त्रण दिदै भ्रमण वर्ष सफल पार्न सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई वागमति प्रदेश र सिंगो नेपालको पहिचान र पर्यटकीय गन्तव्य भएकाले स्वदेशी र विदेशी पर्यटकलाई नगरकोटको बसाई लम्ब्याउने पर्यटन वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न बैठकमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा चाँगुनारायण नगरपालिकाको बृहत्त रुपमा तयार पारिएको वृत्तचित्र प्रर्दशन गरिनुका साथै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललाई पहिलो पटक बैठकमा स्वागत गरिएको थियो ।