
काठमाडौँ, चैत ६ गते ।
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा उपाधि दाबेदार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
विभागीय टोली पुलिस र गण्डकीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने विपिन खत्रीले गण्डकीको नेतृत्व गर्नेछन्। गण्डकीविरुद्धको खेलमा पुलिस आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।
राष्ट्रिय क्रिकेट टोलीको सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन गण्डकीले संषघ गर्नुपर्ने देखिन्छ। पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ।
यता गण्डकीले प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । गण्डकी बलियो टोली पुलिसको चुनौती पन्छ्याउँदै दोस्रो जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगितामा अपराजित पुलिस १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। समान १० अंक भए पनि नेट रन रेटका आधारमा त्रिभुवन आर्मी क्लबलाई उछिन्दै पुलिस शीर्ष स्थानमा रहेको हो।
विभागीय टोली आर्मी तालिकाको दोस्रो स्थानमा छ। यता गण्डकी भने यसअघिका पाँचमध्ये एक जित र चार खेलमा पराजित भएको छ। गण्डकी २ अंकका साथ तालिकाको आठौं स्थानमा छ।
आजे हुने अर्को खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदैछ।