भक्तपुर, ६ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा आउने पर्यटकहरुका लागि नगरकोटको होटल व्यवसायीले १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । आज चाँगुनारायण नगरपालिकामा भ्रमण वर्षको तयारीस्वस्प आयोजना गरेको चार नगरपालिकाका प्रमुख एवं जनप्रतिनिधि र होटर व्यवासइहरुको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिन भरिनै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताउनुभयो । उहाँले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने, एक पटक आएर गएका पर्यटकहरु फेरी पनि आउने र पर्यटकहरु खुसी भएर जाने गरि व्यबस्था र व्यबहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आव्हान गर्नुभयो ।
उहाँले भ्रमण वर्ष सफल पार्न करोडौको लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले सामाजिक दायित्व अन्तर्गत लाख खर्च गरेर आगन्तुक पर्यटकको स्वागतमा लाग्नु पर्ने बताउनुभयो । सम्पन्न मात्रै नभई सबै वर्गका आन्तरिक पर्यटकलाई सहज खाने बस्न सक्ने गरि छुटका प्याकेज बनाउनु पर्ने उहाँले बताउनुभयो । चाँगुनारायण नगरपालिकासंगै मण्डनदेउपुर, बनेपा र शंकरापुर नगरपालिका गरि चारवटै नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्षको आयोजना गर्ने भएकाले चार वटै पालिकाको पर्यटन विकासका लागि नगरकोट भ्रमण वर्ष स्वर्ण युग सावित हुने बताउनुभयो ।
नगर प्रमुख खत्रीले नगरकोटकाबारेमा नकारात्मक प्रचार गरे भ्रमण वर्ष भाड्ने प्रयास पनि भइरहेकोतर्फ सचेत रहन आग्रह गर्दै उहाँले नगरकोट आउने सडक निर्माणका लागि नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले टेण्डन आव्हान गरेको बताउनुभयो ।
होटल व्यवसायीदेखि स्थानीयवासीले समेतले भ्रमण वर्षलाई सफल पार्न आ–आफ्नो घर, टोल, छिमेकमा सफाईदेखि पर्यटकको स्वागतका लागि लाग्नुपर्ने बताउनभयो ।
सो निर्णयलाई आधिकारिक रुप दिन नगरकोट नाल्दूम पर्यटन विकास समितिबाटै निर्णय गराइने भएको छ । सो निर्णयसँगै नगरकोट भ्रमण वर्षभर आउने जोकोहि पर्यटकले विशेष सहुलियत पाउने छन् ।कार्यक्रममा पर्यटन तथा होटल ब्यवसायीहरुले आफूले गर्न सक्ने र गर्ने कामका बारेमा खुलेर कुरा राखेका थिए । ब्यवसायीहरुले भ्रमण वर्ष आयोजना गरिएकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोपबहादुर वाईबाले नगरकोट चारवटै पालिकाको संमग स्थल भएको बताउदै भ्रमण वर्ष २०८२ लाई चारवटै नगरपालिकाले सफल पार्ने बताउनुभयो । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचन निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल मंहगो भएकाले भ्रमण वर्षका लागि छुटको प्याकेज बनाउन आग्रह गर्नुभयो । उहाँले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउदै नगरकाट आउने पर्यटक चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरि व्यबस्था गर्नु पर्ने बताउनुभयो । यहाँका कृषि उत्पादनलाई होटल व्यवसायीले आधा मल्यमा खरिद गर्न सक्ने बताउनुभयो ।
नगरकोट नाल्दूम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बैशाख १ गतेको उद्घाटन स्थलको स्थायी सरचना निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीले गर्ने योगदानकाबारेमा समितिले पुनः छलफल गरेर थप निणय लिने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अबधीभर व्ययवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरुले आफ्नो होटल र आसपासका क्षेत्रमा बेहुली झै सिंगारेर बत्तिले झिलिमिलि बनाउने, सजावट गर्ने, प्रचार प्रसार र प्रबद्र्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताउनुभयो । कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंशाकार, नगरकोट भ्रमण वर्ष–२०८२ का फोकल पर्सन तथा विज्ञ डा. घनश्याम खतिवडालगायतले विश्व बजारमा पर्यटकलाई नगरकोट तान्न सक्ने गरि कार्यक्रमहरु ल्याउने बताउनुभयो ।