१२ चैत, काठमाडौं।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन्।मन्त्रालयमा मंगलबार मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै गुरुङले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको जानकारी दिएका हुन् ।
सोमबार मन्त्रिपरिषद्को बैठकपछि भने घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको कुरामा सत्यता नरहेको अभिव्यक्ति मन्त्री गुरुङले दिएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको जानकारी पनि मन्त्री गुरुङले दिए ।
कार्यकारी निर्देशक घिसिङलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले घिसिङले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साउन २६ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनको कार्यकाल चार महिना मात्रै बाँकी रहँदा सरकारले बर्खास्त गरेको हो ।