काठमाडौं ,१४ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले सुरु गरेको र आफैँले अगाडि बढाएको बताए।
उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे। उनले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए।
उनले शान्ति प्रक्रियाका बाँकी काम कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गरे। तीन राजनीतिक दलहरुले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने बताए।